गोरखामा शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता



सन्तोष अधिकारी, गोरखा
स्थानीय तहको निर्वाचन नजिकिएसँगै गोरखा जिल्लाको चुनावी माहोल ह्वात्तै बढेको छ। बिहान १० बजेदेखि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने भनिए पनि त्यसो भएन। देशकै ठूलो दल नेपाली कांग्रेस करिब १२ बजे मात्र रुख चिह्न र चारतारे झण्डासहितको टिसर्ट लगाएका थुप्रै कार्यकर्ताको जुलुस लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्यो।

नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त र उपमेयरमा बिना श्रेष्ठलाई उठाएको छ। कांग्रेस पार्टी कार्यालय तीनधारेदेखि नारा जुलुस लगाउँदै बसपार्क हुँदै हरमटारी आएको हो। कांग्रेसको जुलुस आउँदा सवारी आवात–जावतसमेत ठप्प थियो।

करिब २ घण्टापछि एमाले पनि कांग्रेसकै शैलीमा कार्यकर्ता लिएर निर्वाचन अधिकृतको कार्यालयमा आयो। जिल्ला प्रशासन छिर्ने गेटमा उम्मेदवार मनोनयन गराउन आएका कांग्रेस र एमालेका नेता कार्यकर्ताको भेट भएको थियो। दुवै पार्टीका नेता–कार्यकर्ता भेट भएपछि जोस्सिएर भोट केमा रुखमा, भोट के मा सूर्यमा लगायतका नारा लगाउन थाले। नेपाल प्रहरीले कांग्रेसका नेता कार्यकर्तालाई रोकेर एमालेलाई निर्वाचन अधिकृतको कार्यालयमा छिराएको थियो। एमालेले गोरखा नगरपालिकामा पूर्वमेयरसमेत रहेका विश्वेश्वर कट्टेल र उपमेयरमा सम्झना देवकोटालाई उठाएको छ।

एमाले जिल्ला प्रशासनको गेटबाट भित्र छिर्ने वित्तिकै नेकपा माओवादी केन्द्र हरमटारी चोकमा निस्कियो। भोट केमा गोलाकार भित्रको हँसिया हथौडामा लगायतका विभिन्न थरीका नारा लगाउँदै माओवादीका नेता–कार्यकर्ता प्रशासन चोकतिर लागेका थिए। केही मिनेटअगाडि मात्र एमालेको जुलुसलाई बल्लतल्ल भित्र पठाएको प्रहरीलाई अर्काे समस्या आइलाग्यो। प्रहरीले एकछिन रोक्न खोज्दासमेत उग्र बनेका माओवादी केन्द्रका कार्यकर्ताले ‘हुँदैन बरु हामी भित्रै कसरी बस्ने हो मिलेर बस्छौं’ भनेर पेल्न थालेपछि प्रहरीले भित्र पठाएको थियो। जिल्लामा मनोनयन दर्ता गर्न माओवादीले ठूलै शक्ति प्रदर्शन गर्यो।

मंगलबारको मनोनयन कार्यक्रममा कांग्रेस र एमालेले भन्दा माओवादी केन्द्रले धेरै शक्ति उतारेको थियो। लाइनबद्ध भएको र्यालीसहित माओवादीले मोटरसाइकलमा समेत युवाहरूलाई मिसाएको थियो। बाजागाजासहित आएका एमालेले करिब डेढ घण्टा लगाएर मनोनयन सकेपछि माओवादी केन्द्रले मनोनयन दर्ता गरेका थियो। माओवादीले मेयरमा कृष्ण राना र उपमेयरमा कञ्चन कुमाललाई उठाएको छ।
गोरखामा ठूला पार्टी भनिने कांग्रेस, एमाले, माओवादी केन्द्रले नगर र गाउँपालिकामा शक्ति प्रदर्शनमा होडबाजी गरेका हुन्। व्यापक कार्यकर्ताको समर्थनका माझ ठूला पार्टी उम्मेदवारी दर्ता गरे। नयाँ शक्तिले भने उम्मेदवारसहित प्रस्तावक र समर्थ मात्र गएर मनोनयन गरेको छ।

नयाँ शक्तिले गोरखा नगरपालिकाको मेयरमा ज्ञानेन्द्र कुमाल र उपमेयरमा पूर्णमायाँ वन्तलाई उठाएको छ। राप्रपाले मेयरमा सरोज कुँवरलाई उठाएको छ। गोरखामा अन्य दलहरू नयाँ शक्ति, राप्रपा, संघीय समाजवादी फोरमलगायतका दलहरूले जिल्लाको दुई नगर र सात गाउँपालिकामा उम्मेदवारको मनोनयन गरेका हुन्। गोरखामा परिवार दल संघीय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी तालमेल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्