अपांगतामैत्री मतदान केन्द्र



सन्तोष रुचाल, धनकुटा
करिब २० वर्षपछि नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन प्रदेश नं. १ लगायत ४ वटा प्रदेशमा २०७४ जेठ ३१ गते सम्पन्न हुँदै छ।

उक्त निर्वाचनलाई लक्षित गरी धनकुटा जिल्लाका दुई वटा मतदान केन्द्र अपांगतामैत्री निर्माण गरिएको छ। अपांगता भएका मतदाताहरूलाई मतदान केन्द्रमा गएर मत हाल्नका लागि सहजता पुर्याउने उद्देश्यले धनकुटा नपा–७ स्थित त्रिवेणी मावि मतदान केन्द्र र धनकुटा नपा–३ स्थित भाषा मावि मतदान केन्द्रमा अपांगतामैत्री बाटो निर्माण गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप शाहले बताउनुभयो।

अपांगतामैत्री बाटो निर्माण भएसँगै अपांगता भएका मतदाताहरूलाई ह्विलचियरमार्फत् मतदान केन्द्रमा आउन–जान सहज हुने भएको छ। जिल्लामा कुल मतदाता ९५ हजार ३ सय ६७ मध्ये १ हजार १ सय ७३ जना अपांगता भएका मतदाता रहेका छन्। चार गाउँपालिका र तीन नगरपालिका रहेको धनकुटामा १ सय १७ वटा मतदान स्थल र १ सय ४३ वटा मतदान केन्द्र तोकिएको छ।

धनकुटाका प्रायः मतदान केन्द्रहरू विद्यालयमा हुने भएकाले पहिले नै कतिपय मतदान केन्द्रहरू अपांगतामैत्री रहेका छन्। त्यसमा पनि यी दुई मतदान केन्द्र बढी जोखिमपूर्ण र अपांगतामैत्री नभएकाले नयाँ निर्माण गरिएको जिल्ला निर्वाचन अधिकारी शाहले बताउनुभयो। जेठ ३१ गते प्रदेश नं. १, २, ५ र ७ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्