प्रमुख दलले पनि पाएनन् सबै उम्मेदवार हर्षोल्लासका साथ उम्मेदवारी दर्ता



मधेसी दल पनि सहभागी

मोतीराम तिमल्सिना, काभ्रे
गलबार सम्पन्न स्थानीय तहको उम्मेदवारी दर्तामा दलहरू तथा मतदाताहरूको उत्साह देखिएको छ। काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटै स्थानीय तहमा प्रमुख तीन दलले सबै पदहरूमा उम्मेदवारी दर्ता गरेको भए पनि केही वडाहरूमा दलित समुदायका व्यक्ति नभएकाले उम्मेदवारी दर्ता हुन सकेन।

दलहरूले बाजागाजासहित उम्मेदवारी मनोनयनमा कार्यकर्ताहरू निर्वाचन कार्यालयमा लगेका थिए। विकट क्षेत्र डाँडापारि, कोशीपारि, तेमाल, रोशी, शहरी क्षेत्रका सबै गाउँपालिका तथा नगरपालिकामा शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयनको काम सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए। मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्यालका अनुसार केही प्रक्रिया बुझ्न उम्मेदवारहरूलाई कठिन भएकाले प्रक्रियामा ढिलाइ भएकाले केही स्थानीय तहहरूमा साँझसम्म पनि उम्मेदवारी दर्ताको काम भइरहेको थियो।

साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि निर्वाचन कार्यालयबाट समय लिइसकेकाले साँझ अबेरसम्म पनि उम्मेदवारी दर्ताको काम जारी थियो।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, नयाँ शक्ति, नेमकिपा, नेकपा मालेलगायतका दलका उम्मेदवारहरूले दलीय आधारमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन् भने केही स्वतन्त्र र केही दलका उम्मेदवारहरूले वडा अध्यक्ष र सदस्यमा बागी उम्मेदवारी पनि स्वतन्त्र उम्मेदवारका रूपमा दर्ता गराएका छन्। जिल्लामा नेकपा माओवादी केन्द्र र मधेसी लोकतान्त्रिक फोरमबीच रोशी गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा समीकरण गर्ने भएका छन्। प्रमुखमा माओवादी केन्द्रका नेता मिमबहादुर तामाङ र उपप्रमुखमा फोरम लोकतान्त्रिकका प्रकाश थापालाई उम्मेदवार बनाई प्रमुखमा फोरमले र उपप्रमुखमा माओवादीले उम्मेदवारी दर्ता गराएको छैन।

नेकपा एमालेको प्रदेश कमिटीले निर्णय गरी पठाएका दुई उम्मेदवार परिवर्तन भएका छन्। धुलिखेलमा उपप्रमुख जमुना तामाङको सट्टामा विमला शर्मा र चौरी देउरालीमा उपाध्यक्ष यशु लामाको स्थानमा इन्द्रमाया तामाङको उम्मेदवारी दर्ता भएको छ। जिल्ला कमिटीले निर्णय गरेको केही वडाअध्यक्षहरूमा समेत परिवर्तन भएको एमालेले जनाएको छ।

को–को भए उम्मेदवार ?

नेकपा एमालेले धुलिखेलको प्रमुखमा अशोक ब्याञ्जु र उपप्रमुखमा विमला शर्मा, बनेपामा लक्ष्मी नरसिं वादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्मत छनोट गरेको थियो भने तेमाल गाउँपालिकामा अध्यक्ष प्रदीप लामा र उपाध्यक्षलाई उषा घिसिङलाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको थियो। मण्डनदेउपुर नगरपालिकामा टोकबहादुर वाइबा र निर्मला शाही, पाँचखालमा रुद्रबहादुर बानिया र भक्तकुमारी लामा, नमोबुद्धमा टिपी शर्मा तिमल्सिना र रामदेवी लामा, पनौतीमा भीम न्यौपाने र गीता वञ्जारा, रोशी गाउँपालिकामा वज्रध्वज वाइबा र बबिता बोहरा, खानीखोलामा कृष्ण खुलाल र रुकमणी गुरुङ, चौरी देउरालीमा लेखराज गौतम र इन्द्रमाया तामाङ, भुम्लु गाउँपालिकामा गुमानध्वज कुँवर र कल्पना श्रेष्ठ, बेथाञ्चोक गाउँपालिकामा प्रेम लामा र उन्नति केसीलाई उम्मेदवार बनाएको छ।

त्यस्तै नेपाली कांग्रेस काभ्रेले बनेपामा राम जोशी र निर्मला श्रेष्ठलाई छनोट गरेको छ भने रोशी गाउँपालिकामा दलबहादुर तामाङ (डीबी) र लक्ष्मी बर्तौला, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा र कमला खनाल, धुलिखेल नगरपालिकामा रमेश हुमागार्इं र निर्मला योगल श्रेष्ठ, मण्डन देउपुर नगरपालिकामा अच्युतप्रसाद पौडेल र राधिका ढकाल, तेमाल गाउँपालिकामा सलामसिं लामा र दुर्गामाया लामा, महाभारत गाउँपालिकामा रकमसिं लामा र विष्णुमाया पुलामी, चौरी देउराली गाउँपालिकामा विक्रमराज गौतम र प्रमिला योञ्जन, खानीखोला गाउँपालिकामा गोपाल दर्लामी र तारादेवी आचार्य (घिमिरे), पनौती नगरपालिकामा विदुर वञ्जारा र अञ्जु केसी, पाँचखालमा महेश खरेल र मञ्जु दनुवार, भुम्लुमा तस्वीर लामा र शान्ति क्षत्री, बेथाञ्चोकमा प्रेमबहादुर तिमल्सिना र सरिता लामिछानेलाई उम्मेदवार बनाएको छ।

माओवादी केन्द्रले बनेपामा भोला अर्याल र सुशीला श्रेष्ठ, धुलिखेलमा सरस्वती लामा र दीनदयाल श्रेष्ठ, पनौतीमा जानुका सापकोटा र जगन्नाथ गिरी, नमोबुद्धमा रत्न लामा र नानु घतानी, मण्डन देउपुरमा रीता ढकाल र निरञ्जन विष्ट, पाँचखालमा आइतसिं तामाङ र अस्मिता थापा मगर, चौरीदेउरालीमा दीनानाथ गौतम र तारा गौतम, भुम्लुसल्लेमा नकुल पराजुली र अनीता गुरुङ, महाभारतमा कान्छामान जिम्बा र रिना राना मगर खानीखोलामा इन्द्रबहादुर थिङ र बिन्दुमाया तामाङ, बेथाञ्चोकमा मर्दनसिं तामाङ र तारा राना मगर, रोशीमा मिमबहादुर वाइबा र तालमेलमा फोरमका प्रकाश थापा, तेमालमा गंगाबहादुर तामाङ र कल्पना मोक्तानलाई उम्मेदवार बनाएको छ।

राप्रपा नेपालले पनौती नगरपालिकामा आरजुकुमार केसी प्रमुख र अप्सरा विकलाई उपप्रमुखमा उम्मेदवार छनोट गरेको छ। पाँचखालमा विष्णुप्रसाद गौतम र उपप्रमुखमा सुनीता दनुवार रहेका छन्। तेमाल गाउँपालिकामा केशव तामाङ अध्यक्ष, भुम्लु गाउँपालिकामा नारायण उप्रेती अध्यक्ष, बेथाञ्चोक गाउँपालिकामा कमलबहादुर लामा, खानीखोलामा चन्द्रबहादुर जिम्बा अध्यक्ष र शारदा तिमल्सिना उपाध्यक्ष रहेका छन्। महाभारत गाउँपालिकामा प्रकाश लामा अध्यक्ष, रोशी गाउँपालिकामा पशुपतिकुमार शाह अध्यक्ष र गंगामाया लामा उपाध्यक्ष रहेका छन्। चौरी देउराली गाउँपालिकामा गान्दिवराज गिरी अध्यक्ष र पवित्रा लामा उपाध्यक्ष रहेका छन्। त्यस्तै मण्डन देउपुर नगरपालिकामा रामकृष्ण सापकोटा प्रमुखमा छनोट भएका छन्। धुलिखेल नगरपालिकामा मनसुमन श्रेष्ठ र रमा थापा उपप्रमुख चयन भएका छन्। फोरम लोकतान्त्रिकबाट धुलिखेलमा राजु तामाङ प्रमुखमा उठेका छन् भने मालेबाट निरज खड्का उपप्रमुखमा उठेका छन्। साना दलहरूले सबै पदहरूमा उम्मेदवारी दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्