जिल्ला सेक्रेटरीसहित २५ जना पक्राउ



धनवीर दाहाल, रुकुम
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुमका सेक्रेटरीसहित २५ जना नेता–कार्यकर्ता पक्राउ परेका छन्। निर्वाचन विथोल्ने काममा सक्रिय भएको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सहसेक्रेटरी गम्भीर, जिल्ला सदस्य हीरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दीपक विष्ट, मुसीकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिविष्णु ओलीसहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अंगुर जीसीले जानकारी दिए। उनका अनुसार जिल्ला सक्रेटेरीसहित २४ जनालाई जिल्लाको आठबीसकोट नगरपालिकाको राडीबाट र १ जनालाई सदरमुकाम मुसीकोटबाटै नियन्त्रणमा लिइएको हो।

मंगलबार बिहान पक्राउ परेका उनीहरूलाई जिल्ला ल्याइएको छ। उनीहरूलाई तत्काल छाड्ने या नछाड्ने विषयमा जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्णय गर्ने डीएसपी जीसीले बताए। निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि प्रहरी कडारूपमा प्रस्तुत हुनुपरेको प्रहरीको भनाइ थियो। ‘उनीहरूले आफ्ना कार्यक्रम गरिरहेका थिए हामी चुप लागेर बसेका थियौं’, डीएपी जीसीले भने– ‘तर, पछिल्ला केही दिनयता उम्मेदवार र मतदातालाई धम्क्याउन थालेपछि प्रहरी सक्रिय भएको हो।’ उनीहरूले विभिन्न पार्टीका उम्मेदवारहरूलाई उम्मेदवारी नदिन तथा मतदाताहरूलाई भोट नहाल्न धम्की दिने, चन्दा असुल्ने, धम्कीपूर्ण भाषामा पर्चा पम्प्लेटहरू निकाल्ने जस्ता गतिविधि सञ्चालन गरिरहेकाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्