हेटौंडामा ५ पत्रकार उम्मेदवार



नेपाल समाचारपत्र
हेटौंडा
स्थानीय तह निर्वाचनमा मकवानपुरका ५ जना पत्रकार उम्मेदवार बन्ने भएका छन्। मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रने भएका हुन्। चुनावी मैदानमा उत्रनेमा नेपाली कांग्रेसबाट १, एमालेका तर्फबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ जना छन्।

युवा पुस्ताका पत्रकार सविन न्यौपाने नेपाली कांग्रेसबाट हेटौंडा–१ बाट चुनावी मैदानमा होमिएका छन्। उनी अहिले चुनावी घरदैलो र भेटघाटमा व्यस्त छन्। न्यौपाने, प्रेस युनियन मकवानपुर उपाध्यक्ष र रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष हुन्। उनी जिल्लामा रहेका विभिन्न संघ–संस्थामा सक्रिय युवा हुन्। उनलाई कांग्रेस हेटौंडा १ नम्बर एकाइ समितिले सर्वसम्मत उम्मेदवारका रूपमा पार्टीमा सिफारिस गरेको थियो। साझा कुरा राष्ट्रिय दैनिकका प्रकाशक⁄सम्पादकसमेत रहेका उनले वडाको विकास गर्न सक्ने व्यक्तित्वको खोजी हुँदा पार्टीले आफूलाई अघि सारेको बताए।

एमालेबाट नवीन सिग्देल, देवराज रिमाल र कुमार नेगी उम्मेदवार बन्ने भएका छन्। हेटौंडा टुडेका सम्पादक रहेका सिग्देल बौद्धिक एवं व्यावसायिक समूहको बाक्लो बसोबास रहेको नगरकै ठूलो वडा हेटौंडा–४ को अध्यक्ष उम्मेदवार बन्ने भएका छन्। एमाले जिल्ला कमिटी सदस्य, आर्थिक विभाग प्रमुख र ३ नम्बर क्षेत्रका सहसंयोजक रहेका सिग्देल अनेरास्ववियुका पूर्वजिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, मकवानपुर क्याम्पसका पूर्वस्ववियु सभापति, क्याम्पसमा अध्यापनमा समेत सक्रिय छन्। चुनावी अभियानमा सक्रिय उनले हेटौंडा–४ लाई स्मार्ट वडा बनाउने नारालाई अघि सार्दै चुनावी मैदानमा होमिएका छन्।

एमालेबाट हेटौंडा–७ को सदस्य उम्मेदवारका रूपमा देवराज रिमाल पनि चुनावी अभियानमा सक्रिय छन्। थाहा सन्देशमा आबद्ध रिमाल अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य, प्रेस चौतारीका पूर्वकेन्द्रीय उपाध्यक्ष, एमाले जिल्ला किमिटी पूर्वसचिवालय सदस्य हुन्। २०३९ सालमा भुटनदेवी माविमा स्ववियु सदस्यबाट राजनीतिमा होमिएका रिमाल आफ्नो राजनीतिक अनुभवलाई सदुपयोग गरेर वडाको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दछन्।

एमालेबाटै पत्रकार कुमार नेगी उत्तरी मकवानपुरको थाहा नगरपालिकाको ३ नम्बर वडा अध्यक्ष उम्मेदवार बन्ने भएका छन्। प्रेस चौतारीका जिल्ला सदस्य भइसकेका नेगी जिल्ला प्रचार विभाग सदस्य हुन्। गैरसरकारी संस्था महासंघलगायत संस्थामा सक्रिय नेगी उत्तरी मकवानपुरमा परिचित नाम हो। उनी वडा विकासमा भिन्न ढंगले काम गर्ने सोचले अघि बढेका छन्।

नेकपा माओवादी केन्द्रबाट नारायणी दैनिकका प्रकाशक⁄सम्पादक सन्तोष न्यौपाने हेटौंडा–१० को अध्यक्ष उमेदवारको रूपमा अघि बढेका छन्। चुनावी अभियानमा व्यस्त न्यौपाने माओवादी केन्द्रका १० नम्बर वडा अध्यक्ष हुन्। न्यौपाने २०६२⁄०६३ को जनआन्दोलनमा चर्चित थिए। हेटौंडा सन्देशका सम्पादक रहिसकेका न्यौपानेलाई तत्कालीन क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीले लोकतन्त्रको पक्षमा समाचार लेखेको भन्दै नियन्त्रणमा लिएका थिए। दुई दशकदेखि पत्रकारितामा सक्रिय न्यौपाने भ्रष्टाचार र विकृतिमाथि खरोरूपमा समाचार लेख्ने र प्रस्तुत हुने व्यक्तित्वका रूपमा चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्