साँच्चै लाग्यो चुनाव :- ३४ जिल्लामा उत्साहजनक रूपमा उम्मेदवारहरूद्वारा मनोनयन दर्ता



सुनील महर्जन, काठमाडौं
स्थानीय तहको निर्वाचन हुने वा नहुने अन्योल भइरहेका बेलामा उम्मेदवारको मनोनयनपत्र दर्ता मंगलबार उत्साहजनकरूपमा सम्पन्न भएको छ। वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि ३४ जिल्लामा मंगलबार मनोनयन दर्ता गरिएको हो।

उम्मेदवार दर्तामा उत्साह देखिएकाले निर्वाचनबारे उठेका सबै आशंका र हल्लालाई चिरेर ३१ वैशाखमा स्थानीय तहको निर्वाचन सुनिश्चित तुल्याएको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ। सरकार र मधेसी दलहरूबीच भएको सहमतिले स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले निर्वाचन गराउने वातावरण तयार गरेको आयोगको ठम्याइ रहेको छ।


सरकार र मधेसवादी दलहरूबीच समझदारी भएसँगै उम्मेदवारी दर्तामा उत्साह थपिएको थियो भने नेत्रविक्रम चन्द्र विप्लवको नेपाल कम्युनिष्ट पार्टीको वहिष्कार प्रभाव खासै परेन। सो पार्टीले एकाध स्थानबाहेक अन्य स्थानमा उम्मेदवार मनोनयन दर्ता गराउन खासै अवरोध पुर्याएन। आँखा चिह्न नपाए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमले तालमेल गरेर उम्मेदवारी दिएका छन्। दुई दलबीच भएको सहमतिअनुसार नयाँ शक्तिले फोरमको चुनाव चिह्न छाताबाट उम्मेदवारी दिएको थियो। मधेसी मोर्चा आबद्ध ६ दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले भने पहिलो चरणको निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै मनोनयन दर्ता गरेन।

उम्मेदवारको मनोनयन दर्तामा देखिएको उत्साहले निर्वाचनका सम्बन्धमा गरिएको आशंका आफै हटेको छ। यसले गर्दा वैशाख ३१ गतेको निर्वाचन सुनिश्चित भएको आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले काठमाडौंका उम्मेदवारको मनोनयनको स्थलगत अवलोकन गर्नुभएको थियो। पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनलाई जोडेर विभिन्न आशंका गरिएको सन्र्दभमा उम्मेदवारको मनोनयनले ती आशंका सबैलाई चिरेको पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवको भनाइ थियो। यादवले काठमाडौंका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकाल र ललितपुरका मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीबाट ती जिल्लाको समग्र मनोनयन प्रक्रियाबारे जानकारी लिनुभएको थियो।

आयुक्त इला शर्माले ललितपुर, आयुक्त नरेन्द्र दाहालले भक्तपुरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरूको अवलोकन गर्नुभएको थियो। यसै गरी, आयुक्तद्वय ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले मुस्ताङ तथा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्षको उपस्थितिमा ती जिल्लाको शान्ति सुरक्षा तथा निर्वाचनबारे छलफल गर्नुभयो। उहाँहरूले ती जिल्लामा भएको उम्मेदवार दर्ता प्रक्रियाको अवलोकन गर्नुभएको थियो। आयोगका सचिव गोपीनाथ मैनालीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा भएको उम्मेदवारी मनोनयनको अवलोकन गर्नुभयो।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म समय तोकिए पनि साँझ ५ बजेभित्र लाममा बसिसकेका उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया रातिसम्म चलेको थियो। दर्ता प्रक्रिया र बढी भीडभाडले गर्दा राति अबेरसम्म मनोनयन दर्ता गराउनेहरूको भीड लागेको आयोगले जनाएको छ।
चार महानगरपालिका र एक उपमहानगरपालिकासहित ९२ नगरपालिकाको मेयर र उपमेयरमा सयौंको उम्मेदवारी परेको छ। त्यस्तै १ सय ८६ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा राति अबेरसम्म पनि उम्मेदवारी दिनेहरूको भीड रहेको थियो। वैशाख ३१ मा ३, ४ र ६ गरी तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहका लागि सो उम्मेदवारी दिइएको हो। सो निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका छन्। निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ।

यसै गरी चारवटै महानगरका १ सय २३ वडा, हेटौंडा उपमहानगरका १९ वडा, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३ सय ६५ गरी जम्मा २ हजार ५ सय ९८ वडामा सम्बन्धित वडाका वडाध्यक्षसहित चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। २ हजार ५ सय ९८ वडा सदस्यमा महिला, २ हजार ५ सय ९८ दलित महिला गरी ५ हजार १ सय ९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी परेको छ।

राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख⁄उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष⁄उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानको कार्यान्वयन उत्साहपूर्वक रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको थियो। विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्दै उम्मेदवारको विरोधमा उजुरी दिने दिन आज बुधबार तोकिएको छ। आयोगले २१ गते नाम फिर्ताको समय दिने जनाएको छ। त्यस्तै २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिह्न प्रदान गर्ने आयोगको तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्