राजपा सतर्क, संशोधन नभए दोस्रो चरणको चुनावमा प्रतिकार गरिने



बीपी साह, काठमाडौं
नवगठित राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनको तयारी गर्न नेताहरूलाई निर्देशन दिएको छ।

संविधान संशोधन र स्थानीय निकायको संख्या बढ्न सक्ने सम्भावना समाप्त हुँदै गएको भन्दै आन्दोलनका लागि सम्पूर्ण तयारी गर्न राजपाले निर्देशन दिएको हो।

मंगलबार काठमाडौंमा भएको राजपाका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पहिलो बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन रोक्न विभिन्न षड्यन्त्र भएको भन्दै सतर्क रहेर आन्दोलनको तयारी गर्न नेताहरूलाई निर्देशन दिनुभएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो–‘अहिलेकै अवस्थामा संविधान संशोधन हुने सम्भावना छैन। प्रमुख पार्टीहरू भागबण्डा गर्नमा मिल्छन् तर संविधान संशोधनमा मिल्दैनन्। त्यसैले हामीसँग आन्दोलनको विकल्प छैन। तपाईहरू आन्दोलनका लागि तयारी गर्नुस्।’

निर्वाचन प्रक्रिया अगाडि बढाइए पनि कुनै पनि बेला दुर्घटना हुनसक्ने बताउँदै ठाकुरले मधेसको कुनै पनि माग सम्बोधन नभएको बताउँदै आन्दोलनका लागि निर्देशन दिनुभएको हो। उहाँले पहिलो चरणको निर्वाचन छलछामबाट हुन सके पनि दोस्रो चरणको निर्वाचन हुन नसक्ने बताउनुभयो।

त्यस्तै, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि सरकारले संविधान संशोधनमा ढिलाइ गरेको बताउँदै आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभएको छ। उहाँले मधेसको माग सम्बोधन नगरी राष्ट्रले निकास पाउन नसक्ने ठोकुवा गर्नुभयो।

बैठकमा सहभागी करिब ६ सय केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको परिचय कार्यक्रमपछि अध्यक्ष मण्डलका सदस्यहरूले निर्देशन दिएका थिए। मंगलबारको बैठकबाट ६ वटै पार्टीका केन्द्रीय सदस्य तथा सम्पूर्ण पदाधिकारीहरूबाट एकीकरणको स्वीकृत लिइएको छ। निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रियासमेत पूरा गरिएको छ।

पार्टीको नाम तथा झण्डालाई पनि अनुमोदित गराइएको छ। पार्टीका नामका विषयमा केही सहभागीहरूले चिन्ता व्यक्त गरेपछि नेता ठाकुरले पार्टीको नाम आगामी महाधिवेशनबाट फेरिन सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्