प्याब्सनद्वारा भत्र्सना



काठमाडौं, (नेस)
प्याब्सनका अध्यक्ष बजिय सम्बाहाम्फेले नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा शुल्क वृद्धिको विषयलाई लिएर प्याब्सन केन्द्रीय कार्यसमितिका पूर्वउपाध्यक्ष, प्याब्सन जिल्ला कार्यसमिति, कैलालीका प्रमुख सल्लाहकार एवं कैलाली जिल्लाको धनगढीस्थित मोर्डन इंग्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल आरसी यादवमाथि विद्यार्थी संघ⁄संगठनको नाममा आएका ५०⁄६० जनाको समूहद्वारा विद्यालय हाताभित्रै गरिएको सांघातिक हमलाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।

उहाँले मंगलबार एक वक्तव्य जारी गरी आफ्ना कुत्सित उद्देश्य परिपूर्तिका लागि एउटा निहत्था संस्थापक प्रिन्सिपल तथा शिक्षासेवीमाथि गरिएको यो आक्रमण समग्र निजी विद्यालय र प्याब्सनमाथिको प्रहार भएको ठहरसहित यस किसिमको अत्यन्तै निन्दनीय अपराधिक कार्यको प्याब्सन केन्द्रीय सचिवालय घोर भत्र्सना गर्दछ भन्नुभएको छ।

वक्तव्यमा देशको शैक्षिक क्षेत्रको गुणस्तरीयता अभिवृद्धि, विकास एवं विस्तार गर्दै राष्ट्रलाई नै शैक्षिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अनवरतरूपमा क्रियाशील शिक्षासेवीको युगिन योगदानलाई नजरअन्दाज गर्दै विभिन्न वहानामा गरिएको यस किसिमको ज्यादतिको निष्पक्ष छानविन गरेर दोषीलाई तत्काल कठघरामा उभ्याई कडाभन्दा कडा कारबाही गर्न र यस किसिमका घटना दोहोरिन नदिन नेपाल सरकार तथा मातहतका निकायसमक्ष जोडदार माग गर्दछौं भनिएको छ।

प्रतिक्रिया दिनुहोस्