भक्तपुरमा उमेदवारी दर्ता, कांग्रेस, नेमकिपा, एमाले, माओवादी केन्द्र र राप्रपा बीच मुख्य प्रतिस्पर्धा



पुष्कर बुढाथोकी, भक्तपुर
आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा उमेदवारी दर्ता गरिएका छन्। विभिन्न दल र स्वतन्त्र उमेदवारहरूले उमेदवारी दिएका हुन्। नेपाली कांग्रेसको तर्फबाट भक्तपुर नगरपालिकाको मेयरमा राम कासुला र उपमेयरमा गंगा लक्ष्मी अवालले उमेदवारी दर्ता गराएका छन्। त्यसै गरी सूर्यविनायक नगरपालिकामा मेयरमा विष्णुराज कार्की र उपमेयरमा कल्पना राजथलाले उमेदवारी दिएका छन्। चाँगुनारायण नगरपालिकामा मेयरमा राजाराम खड्का र उपमेयरमा सरु बानियाले तथा मध्यपुर ठिमी नगरपालिकामा मेयरमा अष्टकुमार कवें र उपमेयरमा अन्जना मधिकर्मीले उमेदवारी दर्ता गराएका छन्।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं पूर्व सभासद सुनिल प्रजापति मेयरको उमेदवारी दिनुभएको छ। पहिलो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्रनम्बर २ बाट निर्वाचित हुनुभएका उहाँ दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित हुनुभएको थियो। उपमेयरमा भने नेमकिपाको तर्फबाट रजनी जोशीले उमेदवारी दर्ता गर्नुभएको छ। जोशी ख्वप इन्जिनियरिङ कलेजका सहप्राचार्य हुन्।

त्यस्तै नेकपा एमालेका तर्फबाट भने भक्तपुर नगरपालिकाको मेयरमा विष्णु सुवाल र उपमेयरमा कृष्णमाया त्वायनाबासु, सूर्यविनायक नगरपालिकामा मेयरमा बासुदेव थापा र उपमेयरमा जुना बस्नेत, चाँगुनारायण नगरपालिकामा मेयरमा एमाले केन्द्रीय सदस्य सोमप्रसाद मिश्र र उपमेयरमा विना बास्तोलाले उमेदवारी दर्ता गराउनुभएको छ।
यता मध्यमुर ठिमी नगरपालिकामा भने एमाले र नेमकिपाबीच समीकरण गरी संयुक्त प्यानल बनाएर उमेदवारी दर्ता गराएका छन्। मेयरमा एमालेको मदनसुन्दर श्रेष्ठ, उपमेयरमा नेमकिपाका तर्फबाट केदार खड्काले उमेदवारी दर्ता गराउनुभएको छ।

यता माओवादी केन्द्रले भक्तपुर नगरपालिकामा मेयरमा सत्यलाल मुल र उपमेयरमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकामा मेयरमा दिलकृष्ण तज र उपमेयरमा पूण्यवती चौलागार्इं, चाँगुनारायण नगरपालिकामा मेयरमा शिव अधिकारी र उपमेयरमा लक्ष्मी खड्का तथा मध्यपुरथिमि नगरपालिकामा मेयरमा प्रतिभा श्रेष्ठ र उपमेयरमा सुचित्रा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
नेमकिपाले भक्तपुर नगरपालिकामा मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी, सूर्यविनायक नगरपालिकामा मेयरमा मनशोभा त्वाती, उपमेयरमा महिन्द्र बखुन्छे, चाँगुनारायण नगरपालिकामा मेयरमा न्हुछे फोजु र उपमेयरमा रिता काफ्लेले उमेदवारी दिएका छन्।

राप्रपा तर्फबाट भने भक्तपुर नगरपालिकामा मेयरमा रविकृष्ण श्रेष्ठ, सूर्यविनायक नगरपालिकामा मेयरमा प्रविन ढुंगेल र उपमेयरमा जयन्ती महत, चाँगुनारायणमा मेयरमा रविन्द्रप्रताप शाह र उपमेयर यवती कार्की तथा मध्यपुरथिमि नगरपालिकामा मेयरमा राधा अधिकारी र उपमेयरमा नरगोविन्द शंखदेवले उमेदवारी दर्ता गराएका छन्।

त्यसै गरी नेकपा मालेले सूर्यविनायक नगरपालिकामा मेयरमा ज्ञानीराम श्रेष्ठ र उपमेयरमा सीता खड्का, मध्यपुर थिमि नगरपालिकामा मेयरमा वसन्तबहादुर खत्री र उपमेयरमा केदारलक्ष्मी श्रेष्ठ, चाँगुनारायण नगरपालिकामा मेयरमा साधुराम दाहाल र उपमेयरमा दुर्गा रम्तेलले उमेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय जनमोर्चा नेपालले भक्तपुर नगरपालिकामा मेयरमा रामभक्त किजू र उपमेयरमा अमिता बोहजू (गोसाई), मध्यपुर थिमि नगरपालिकामा मेयरमा भीमप्रसाद श्रेष्ठ र उपमेयरमा रूपा राणा र सूर्यविनायक नगरपालिकामा मेयरमा रमेश बञ्जाडेले उमेदवारी दिएका छन्।

त्यसै गरी संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाले संयुक्त प्यानल बनाएर उमेदवारी दिएका छन्। जसमा भक्तपुर नगरपालिकामा मेयर विष्णुप्रसाद निसुतु (मोर्चा), उपमेयरमा ललिता न्यौपाने (नयाँ शक्ति), मध्यपुर थिमि नगरपालिकामा मेयरमा ज्ञानराम श्रेष्ठ (नयाँ शक्ति), उपमेयरमा नानीछोरी बादेँ (संघीय समाजवादी), सूर्यविनायक नगरपालिकामा मेयरमा नारायणकृष्ण थापा (नयाँ शक्ति), उपमेयरमा दिना लामा (संघीय समाजवादी) तथा चाँगुनारायणमा मेयरमा कान्छा तामाङ (नयाँ शक्ति) र उपमेयरमा चण्डिका लामिछाने (नयाँ शक्ति) ले उम्मेदवारी दर्ता गराएका छन्।
चाँगुनारायण नगरपालिकामा नेपाल पूर्वराष्ट्रिय सेवक लोकतान्त्रिक पार्टीले मेयरमा गोकर्णप्रसाद दाहाल र उपमेयरमा मानबहादुर लामाले उमेदवारी दिएको छ। त्यसै गरी सोही नगरपालिकामा मेयरमा स्वतन्त्रबाट मेयरमा मदनकृष्ण न्यौपाने, पुरुषोत्तम पोखरेल, रामबाबु राणामगर, नारायण कार्की र राधाकृष्ण न्यौपाने तथा उपमेयरमा राजु भारतीले उमेदवारी दर्ता गराएका छन्।

भक्तपुर नगरपालिकामा मेयरका लागि स्वतन्त्र उमेदवार भक्तपुर नगरपालिका तचपालका गोपालदास वनेपालीले उमेदवारी दर्ता गराउनुभएको छ। साँझ ५ बजेसम्म उमेदवारी दर्ता गर्ने समय भए पनि निर्वाचन अधिकृतको कार्यालयभित्र पाँच बजेभित्र प्रवेश गरेका व्यक्तिहरूलाई उमेदवारी दर्ता गर्न मिल्ने भएकाले ७ः ३० बजेसम्म पनि उमेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ।

स्थानीय तहको निर्वाचनमा भक्तपुरमा अन्य जिल्लाको भन्दा फरक माहोल देखिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको गृहनगर यहाँ नेमकिपाको बढी चर्चा सुनिन्छ। त्यसैले भक्तपुरमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी बीच प्रतिस्पर्धा हुने देखिन्छ। त्यसो त नेकपा माओवादी केन्द्र र राप्रपा पनि प्रतिस्पर्धी देखिएका छन्।

यसअघि ६ वटा नगरपालिका रहेकामा नगरकोट र अनन्तलिंगेश्वर नगरपालिकालाई गाभेर अब चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा गाभेपछि चार नगरमा खुम्चिएको भक्तपुरमा वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको माहोल निकै तातेको छ। यहाँ सूर्यविनायक, भक्तपुर, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिका गरी चार नगरपालिकामा स्थानीय नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा ०५४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट मदनकृष्ण श्रेष्ठ मेयर र मुरारी आचार्य उपमेयरमा निर्वाचित भएका थिए। भक्तपुर नगरपालिकामा ०५४ सालको स्थानीय निर्वाचनमा मेयरमा नेमकिपाका प्रेम सुवालले जित हात पारेका थिए।चाँगुनारायण र सूर्यविनायक नयाँ नगर भएकाले यहाँ पहिलोपटक स्थानीय निर्वाचन हुँदै छ।भक्तपुर नगरपालिकालाई नेमकिपाको पकड क्षेत्रका रूपमा पनि लिइन्छ। यहाँ नेमकिपाको नै बढी चर्चा सुनिन्छ।

भक्तपुरमा नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुनेछ। उक्त नगरपालिकामा नेमकिपाको संगठन अन्य पार्टीको भन्दा बलियो देखिन्छ। २०७० सालको सविधान सभाको निर्वाचनमा भक्तपुरको दुई क्षेत्रमा निर्वाचन क्षेत्र नं. १ मा नेपाल किसान मजदुर पार्टीका नारायणमान बिजुक्छे विजयी भएका थिए।२ नं. निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका रामेश्वर ढुंगेलले जित हासिल गरेका थिए।

२०५४ सालमा भएको तत्कालीन स्थानीय निकायको निर्वाचनमा जिल्लाका १६ गाविसमध्ये ९ गाविसमा एमाले, ६ गाविसमा कांग्रेस र एक गाविसमा नेमकिपाले जित हासिल गरेको थियो। भक्तपुर नगरपालिकामा नेमकिपा र मध्यपुर थिमीमा कांग्रेसले जित हासिल गरेको थियो।

हाल मुलुकको राजनीतिमा तेस्रो शक्तिमा रहेको माओवादी केन्द्र उतिबेला नभएकाले हाल कतिपय स्थान उक्त अवस्था कायम नहुने देखिन्छ। स्थानीय तहको निर्वाचन भएकाले पार्टी भन्दा पनि व्यक्तिमा भर पर्नेसमेत देखिन्छ।

मध्यपुर थिमीमा कांग्रेस स्वभावैले मेयरका लागि बलियो देखिए पनि अन्य पार्टीको भूमिकाले पनि प्रभाव पार्न सक्ने देखिन्छ।यसै गरी चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा कांग्रेस एमालेबीच मुख्य प्रतिस्पर्धा हुने चर्चा गरिए पनि नेमकिपा र राप्रपा र माओवादी केन्द्रलाई पनि कम अाँक्न नसकिने अवस्था छ। यहाँ पनि दलहरूको समीकरणले कसलाई विजयी बनाउने हुन् यसै भन्न सकिने अवस्था छैन।जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा ३६ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्