दाजुभाइ नै मेयरका उम्मेदवार



नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा उपमहानगरको वडा नम्बर ५ मा सँगै टाँसिएको घर । एउटालाई पीर पर्दा अर्कोलाई दुःख हुन्छ, एउटालाई चोट पर्दा अर्को रुन्छ । चाडपर्व वा अन्य पारिवारिक घरधन्दा सँगसँगै गर्छन् । आदर, सत्कार र मेलपिलापमा कुनै कमी छैन, एउटै घरसरह बस्दै आएका छन् ।

नाताले हरिबहादुर (हरिबल) महत र भीमसेन महत सहोदर दाजुभाइ हुन् । तर, राजनीतिक आस्था र विचारका आधारमा भने दुवैको मन मिल्दैन । यतिमात्रै होइन, स्थानीय तह निर्वाचनमा उनीहरु फरकफरक पार्टीबाट एउटै पदका लागि उम्मेदवार बनेका छन् । दाइ हरिबल र भाइ भीमसेन दुवै जना हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार बनेका हुन् ।

दाइ हरिबल नेकपा एमालेबाट मेयर उठेका छन् भने भाइ भीमसेन नेकपा मालेका तर्फबाट घोषित उम्मेदवार छन् । हरिबल र भीमसेन दुवैले स्थानीयस्तरमा निकै राम्रो प्रभाव पारेका छन् । उनीहरु लोकप्रिय युवा नेता हुन् ।

हरिबल नेकपा एमाले जिल्ला सदस्य हुन् भने भीमसेन पार्टीका केन्द्रीय सदस्य र मकवानपुर सचिव छन् । हरिबल नेकपा एमालेमा लामो समयदेखि सक्रिय छन् । उनी दुई पटक उपमेयर निर्वाचित भइसकेका छन् । उनी उपमेयर रहेकै नगरपालिकामा भएका भ्रष्टाचारविरुद्ध भाइ भीमसेनले लामो समयदेखि विभिन्न फोरममा आवाज उठाउँदै आएको पाइन्छ ।

हरिबलले स्थानीयस्तरमा विद्यालय र क्लबहरुलाई स्वदेशी र विदेशी दातृ निकायसँग सहकार्य गरी सहयोग गर्दै आएका छन् । विशेषतः बालबालिकाको शिक्षा अधिकार र विकासमा युवा परिचालनका पक्षमा हरिबलले काम गरेको करिब अढाई दशक नघिसकेको छ ।
भीमसेन नगरपालिकामा हुने गरेका वा बहुचर्चित हेटौंडा–काठमाडौं सुरुङमार्गलगायतमा भएका भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका सक्रिय युवा हुन् । उनले हेटौंडा–१०, बसपार्कनजिक स्थापित सवारी कर संकलन चौकीबाट संकलित रकममा व्यापक भ्रष्टाचारको आरोप लगाइएपछि छानविनका लागि तेस्रो समिति गठन गरिएको थियो ।
नेकपा माले मकवानपुरले आवाज उठाएपछि नगरपालिकाले सुरुमा कर्मचारीकै समिति बनाएको थियो । त्यसको प्रतिवेदनउपर विश्वास नगरी दलीय संयन्त्र आफैंले समिति बनाएर अवलोकन गरेका थिए । त्यसपछि पछिल्लो समय नगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ र नारायणी यातायात व्यवसायी संघलगायत सम्मिलित कमिटी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्