ललितपुरमा प्रमुख तीन सहित साना दलको उम्मेदवारी



काठमाडौँ, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ ।

बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले महानगरमा उम्मेदवारी दर्ता भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा हसिना शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसैगरी नेकपा (माले)बाट प्रमुखमा मोहनराज शाक्य र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, नेकपा(क्रान्तिकारी माओवादी)बाट प्रमुखमा विजय खड्गी र उपप्रमुखमा इन्द्रिरा अधिकारी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा रोशन महर्जन र स्वतन्त्रबाट रमेश महर्जनले प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत दवाडीले जानकारी गराउनुभयो ।

यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुकाजी महर्जन र स्वतन्त्रबाट शोभा शाक्यले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस र नेकपा(एमाले) अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।

विसं २०५४ पछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवार दर्ता गराइरहनुभएको छ ।

ललितपुर महानगरमा एक लाख १२ हजार नौ सय २५ जनसङ्ख्या छ । रासस

प्रतिक्रिया दिनुहोस्