रियल स्कूल अफ नेपाल प्रतियोगिता पुनः हुँदै



नेपाल समाचारपत्र
काठमाडौं
रियलले वार्षिक प्रतियोगिता ‘रियल स्कूलअफ नेपाल–२०१७’ पुनः आयोजना गर्ने भएको छ। पाँच वर्षदेखि नियमित रुपमा आयोजना भइरहेको उक्त प्रतियोगितामा देशभरका विद्यालय रियल स्कूल अफ नेपाल बन्नका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता बन्नका लागि छनोट भएका विद्यालयका विद्यार्थीले आफ्नो प्रतिभा, आत्मविश्वास तथा बौद्धिक र टिमवर्क गर्ने क्षमता आवश्यक पर्ने विभिन्न क्रियाकलापमा सहभागी हुनेछन्। यस वर्ष मध्यमाञ्चलमा वीरगन्ज केन्द्र थप गरिएको छ। क्षेत्रीयस्तरको विजेता बन्नका लागि प्रत्येक क्षेत्रबाट करिब ३५ विद्यालयले सहभागिता जनाउनेछन् र क्षेत्रीय विजेता विद्यालयले अन्तिम चरणको प्रतियोगिताको लागि आफ्नो स्थान सुरक्षित गर्नेछन्।

रियल स्कूल अफ नेपाल–२०१७ प्रतियोगिताका लागि ११ केन्द्रहरु तोकिएका छन्। पश्चिमाञ्चलको बुटवलमा जुन ७, पोखरामा जुन ९, मध्यमाञ्चलको नारायणघाटमा जुन ७, काठमाडौंमा जुन २०, २६ तारिख, ललितपुरमा जुन ३० र वीरगन्जमा जुलाई २१ तारिखमा कार्यक्रम हुनेछन्। त्यसैगरी पूर्वाञ्चलको विर्तामोडमा जुलाई १७, विराटनगरमा जुलाई १८, सुदूरपश्चिमको धनगढीमा अगस्ट १, र मध्यपश्चिमाञ्चलको नेपालगन्जमा अगस्ट ३ मा कार्यक्रम हुनेछ।
सहभागी विद्यालयका विद्यार्थीहरु सिनियर समूह (कक्षा ८,९,१ ०) अन्तर्गत एक्सटेम्पोर, नृत्य र फुटबल जगलिङ तथा जुनियर समूह (कक्षा ५,६,७) अन्तर्गत पेन्टिङ, थ्रि मिनेट टु फेम र स्कोर द रियल गोल जस्ता क्रियाकलापहरुमा प्रतिस्पर्धा जनाउनेछन्। थ्रि मिनेट टु फेम र नृत्यतर्फ अभिनेत्री मिथिला शर्मा, चित्रकलातर्फ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर र स्कोर द रियल गोलतर्फ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी सुरेन्द्र तामाङ निर्णायक रहनुहुनेछ। साथै सञ्चारकर्मी प्रभात रिमाल एक्सटेम्पोरका निर्णायक रहनुहुनेछ।

प्रतियोगिताको विजेतालाई रियल स्कूलअफ नेपालको शिल्ड सहित ६ लाख रुपियाँ बराबरको छात्रवृत्ति तथा ग्रान्ड फिनालेमा विजयी हुने ६ जना विद्यार्थीलाई ल्यापटप प्रदान गरिनेछ। यसबाहेक ८ वटा उपत्यका बाहिरका आर्थिक स्थिति कमजोर भएका एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्