दुई हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्दै



नेपाल समाचारपत्र
काठमाडौं
सार्वजनिक– निजी साझेदारीको सफल परियोजना चिलिमे जलजिवद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनीले साधरण शेयर (आईपीओ) जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
उक्त आईपीओमा कम्पनीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र आयोजनामा ऋण लगानी गर्ने कम्पनी नागरिक लगानी कोष तथा कर्मचारी सञ्चय कोषका कर्मचारी तथा सदस्यहरूले मात्रै आवेदन गर्न पाउनेछन्। १ करोड ६४ लाख २१ हजार ४० कित्ता र सान्जेनले ८७ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति मागेको छ।

रसुवागढीको सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट, ग्लोबल आईएमई क्यापिटल र एनसीएम मर्चेन्ट तथा सान्जेनको आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेका छन्।

रसुवागढीले रसुवा जिल्लामा १११ मेगावाटको जलविद्युत् आयोजना बनाइरहेको छ। यसमा कर्मचारी सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ताका लागि १९ दशमलब ५ प्रतिशत, प्राधिकरणका कर्मचारीका लागि ३ दशमलब ५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर छुट्ट्याइएको छ। रसुवागढी जलविद्युत् आयोजनामा प्राधिकरणले १८ र चिलिमेले ३३ प्रतिशत स्वःपुँजीअन्तर्गत लगानी रहेको छ।करिब ४० प्रतिशत निर्माण पूरा भएको आयोजनाको अनुमानित लागत १५ अर्ब रुपियाँ रहेको छ।

त्यस्तै रसुवा जिल्लामै ४२ दशमलब ५ मेगावाटको सान्जेन जलविद्युत् र १४ दशमलब ८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना बनाउँदै गरेको सान्जेन जलविद्युत् कम्पनीले पनि कर्मचारी, ऋण लगानीकर्ता कम्पनीका कर्मचारी र सञ्चय कोषका सञ्चयकर्तालाई शेयर बिक्री गर्ने छ।

जसमध्ये कोषका सञ्चयकर्ताका लागि १९ दशमलब ५ प्रतिशत, कोष कर्मचारीका लागि १ प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३ दशमलब ५ प्रतिशत शेयर छुट्याइएको छ। ७ अर्ब ६५ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वः पुँजी रहेको छ। स्वःपुँजीमा चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको लगानी छ। हालसम्म माथिल्लो सान्जेनको ५५ प्रतिशत र सान्जेनको ४० प्रतिशत काम पूरा भएको बताइएको छ। दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी, ऋण लगानीकर्ताका कर्मचारी र सदस्यलाई चालू आर्थिक वर्षभित्रै शेयर बाँडफाँड गर्ने लक्ष्य लिएका छन्। तत्पश्चात आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणलाई शेयर जारी हुने छ। दुवै आयोजना सन् २०१९ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्