बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता



नविन श्रेष्ठ⁄सिन्धुली

स्थानीय तहको निर्वाचनमा हुने राजनीतिक गतिविधिहरूमा बालबालिकाको अनुचित प्रयोगन नगर्न सिन्धुलीका स्थानीय राजनीतिक दलहरूले प्रतिवद्धता व्यक्त गरेका छन्।

जिल्ला देखि वडा तहसम्मका राजनीतिक दलहरू वालवालिकाको अनुचित प्रयोग नगर्न प्रतिवद्धता जनाएका हुन्। आईतवार दुधौली नगरपालिका–३ निपानेका राजनीतिक दलका प्रतिनिधि सहितका सरोकारवालाहरूले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

निर्वाचन आयोगद्वारा जारी स्थानीय तह निर्वाचन आचारसंहिता, २०७२ का बुँदा नं. ४(ड) मा उल्लेख भएवमोजिम निर्वाचन प्रचारप्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने प्रावधान रहेकाले दलहरूको यस्तो प्रतिवद्धता सार्वजनिक भएको हो। प्रतिवद्धता पत्रमा नेपाली काँग्रेसका प्रतिनिधि मुसो अधिकारी, नेकपा एमालेका प्रतिनिधि वुद्धिलाल अधिकारी, नेकपा माओवादी केन्द्र बल बहादुर पूर्वछाने लगायत स्थानीय विद्यालयका प्रधानध्यापकहरूले हस्ताक्षर गरेका छन्।

विद्यालय हाता भित्र अध्ययन अध्यापनमा बाधा पुग्ने गरी कुनै पनि संघ, संस्था, राजनीतिक दलहरू तथा अन्य कुनै पनि निकायहरूले कुनै पनि क्रियाकलाप सञ्चालन नगराउन दलहरू सहमत भएका हुन्। साथै निर्वाचनको क्रममा विद्यालय हाता भित्र राजनीतिक दलको कार्यक्रम, प्रचारप्रसार भित्तेलेखन आमसभा आदि नगर्न पनि प्रतिवद्धता जाहेर गरेका छन्। बालबालिकाको शारिरिक, मानसिक एवं सम्बेगत्मक हिसावले हर हमेसा शान्ति क्षेत्रको रूपमा कायम राखि विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र वनाई राख्न समेत प्रतिवद्धता जनाएका छन्।

निर्वाचनमा बालबालिकाको अनुचित प्रयोग भए नभएको अनुगमन गर्न ९ सदस्यीय अनुगमन तथा मुल्याङकन समिति गठन गरी राजनीतिक दललाई प्रतिवद्धता समेत गराएको छ। जिल्लामा अनुगमन तथा मुल्याङकनको लागि बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले अनुगमन तथा मुल्याङकन गर्ने जिम्मा समेत लिएको छ। कमलामाई नगरपालिकामा परिवर्तन जागरण क्लव, दुधौली नगरपालिका र फिक्कल गाउपालिका ग्रामिण महिला चेतना केन्द्र, दुधौली नगरपालिका र गोलञ्जोर गाउपालिका रिलिफ नेपालले अनुगमन तथा
मुल्याङकन गर्ने महिला तथा
बालबालिका कार्यालयका बाल अधिकार अधिकृत केआर विजयले जानकारी दिए।

त्यस्तै घ्याङलेक र मरिण गाउपालिका सामुदायिक विकास कार्यक्रम, सुनकोषि गाउपालिका प्लान इन्टरनेश्नल नेपाल, हरिहरपुरगढी गाउपालिका कारितास नेपाल, जिल्ला बाल क्लव सञ्जार र तिनपाटन गाउपालिका सिड्स नेपालले अनुगमन गर्ने जिम्मा लिएको उनले वताए। अनुगमन गरेर हरेक हप्ताको शुक्रवार जिल्ला वाल कल्याण समितिमा प्रतिवेदन दिने र जिल्ला बाल कल्याण समितिले केन्द्रिय बाल कल्याण समितिमा आईतवार प्रतिवेदन वुझाउने व्यवस्था गरेको उनले वताए।

प्रतिक्रिया दिनुहोस्