विश्वकै पाको व्यक्तिको निधन



जाकार्ता, (एजेन्सी)
विश्वकै सबैभन्दा पाको उमेरको दाबी गरिएका इन्डोनेरियाका १ सय ४६ वर्षीय पुरुषको मध्य जाभास्थित आफ्नै गाउँमा निधन भएको छ। सरकारी सूत्रले सोदिमेदजो वाह घोतो (बाज्ये घोतो) नामक उनको कागजातमा उनको जन्म सन् १८७० को डिसेम्बरमा भएको उल्लेख गरिएको छ।

तर, इन्डोनेसियामा सन् १९०० देखि मात्र जन्मदर्ता हुन थालेकाले त्यसभन्दा पहिले तिथि लेखनमा गल्ती हुनसक्ने पनि बताइएको छ। तर, अझै पनि सरकारी अधिकारीहरूले उनका कागजात वैधानिक भएको बीबीसीलाई जानकारी गराएका छन्।

स्वास्थमा गडबडी भएपछि १२ अप्रिलमा उनलाई अस्पताल पुर्याइएको थियो। त्यसको ६ दिनपछि उनले घर फर्किन जिद्दी गरेका थिए। उनका नाति सुयान्तोले भनेका छन्– ‘अस्पतालबाट घर ल्याइएयता उनले केही चम्चा सातु र अलिकति झोल पदार्थ मात्र खाने गरेका थिए। मुत्युको नजिक पुग्ने क्रममा उनले खान र पिउन अस्वीकार गर्न थालेका थिए।’

अति धेरै धुमपान गर्ने गरेका उनीभन्दा पहिले उनका ४ पत्नी, १० भाइबहिनी र सम्पूर्ण सन्तानको मृत्यु भएको थियो। उनले गत वर्ष बीबीसीलाई अन्तरवार्ता दिने क्रममा लामो समय बाँच्नुको कारण आफ्नो धैर्यता, आफूलाई स्याहार र माया गर्नेहरू हुनु हो भनी बताएका थिए।

प्रतिक्रिया दिनुहोस्