मदरसा संघद्वारा कतारी राजदूतलाई ज्ञापनपत्र



नेपाल समाचारपत्र
चन्द्रौटा
नेपालका लागि कतारी राजदूत युसुफ मोहम्मद अलहीललाई राष्ट्रिय मदरसा संघ नेपालले ज्ञापनपत्र बुझाएको छ।

कतारमा कार्यरत लाखौं नेपाली कामदारको सेवा सुविधामा सहुलियत दिनुपर्ने अपिल गर्दै विश्व मजदुर दिवसको अवसरमा मदरसा संघले ज्ञापनपत्र बुझाएको हो। संघका केन्द्रीय अध्यक्ष डा. अब्दुलगनी अलकुफी र महासचिव मौलाना मसहुद खाँ ‘नेपाली’ राजदूतावास काठमाडौं पुगी आइतबार अलहिललाई ज्ञापनपत्र बुझाएका हुन्। इस्लामको ऐनमा मजदुरको मजदुरी उसको निधारको पसिना सुक्नुभन्दा पहिले दिनुपर्ने व्यवस्थालाई अविलम्ब पालना गर्न मदरसा संघले ज्ञापनपत्रमार्फत् कतारका राजदूत अलहिलसँग माग गरिएको छ। कतार राज्यको श्रम ऐन २०१६ र कतार राज्यको आप्रवासी कामदारको निर्देशिकाबमोजिम कतारमा कार्यरत हरेक नेपालीलाई शान्तिसुरक्षाको प्रत्याभूति र श्रमको उचित मूल्य निर्धारण गर्न माग गरिएको छ।

यता नेपालका लागि कतारी राजदूत अलहिलले ज्ञापनपत्र ग्रहण गर्दै नेपाली कामदारको इमानदारिता र कामप्रति आफू सन्तुष्ट रहेको बताए। राजदूत अलहिलले मदरसा संघको अपिललाई अविलम्ब कार्यान्वयनका लागि आफूले कतारी सरकारसँग भरपुर कोसिस गर्ने प्रतिबद्धता जाहेर गरे। आप्रवासी कामदारकै हकअधिकारका लागि श्रम ऐन र निर्देशिका तयार पारिएको इंगित गर्दै राजदूत अलहिलले नेपाली कामदारलाई पसिनाको उचित मूल्य दिने आश्वासन दिए। साथै नेपाली कामदारलाई कतार राज्यको श्रम ऐन र निर्देशिकामा व्यवस्था भएअनुसार हरेक सेवासुविधा उपलब्ध गराउने राजदूत अलहिलले आश्वासन दिएको मदरसा संघ नेपालका केन्द्रीय महासचिव मौलाना मसहुद खाँ ‘नेपाली’ ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्