३४ जिल्लामा आज मनोनयन दर्ता



काठमाडौं, (नेस)
३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनपत्र आज मंगलबार दर्ता गरिने भएको छ।

उम्मेदवार मनोनयन पत्र दर्ता गराउनका लागि सबै तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सोमबार जानकारी दिनुभयो। आवश्यक पर्ने सबै निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पुर्याइसकिएको पनि आयोगले जनाएको छ। मङ्गलबार हुने उम्मेदवारको मनोनयनपत्रको दर्ता बिहान १० देखि ५ बजेसम्म सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा हुने जनाइएको छ। मनोनयनले निर्वाचनका बारेमा उठेका शङ्का उपशङ्का, द्विविधा र हल्लाहरू आफै हटेर जाने पनि प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो।

ललितपुर, काठमाडौं, पोखरा र चितवन गरी चार महानगरपालिका, हेटौंडा उपमहानगरपालिकाको निर्वाचन पनि पहिलो चरणमा हुनेछ। नगरपालिकाको प्रमुख⁄उपप्रमुख तथा गाउँपालिका अध्यक्ष⁄उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान रहेको छ।

वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। महिला, दलित, अल्पङ्ख्यकलगायतले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको पनि आयोगले जनाएको छ।

विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ। दुई चरणको निर्वाचनमा भाग लिन ८० वटा दलले आयोगमा नाम दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्