सल्यानमा स्थानीय तह निर्वाचनको तयारी पूरा



सरिता चलाउने, सल्यान
बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि सल्यानमा सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सबै निर्वाचन अधिकृतको कार्यालयहरू तयार रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।

सल्यानका विभिन्न स्थानमा दलहरूले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। जसका कारण जिल्लामा चुनावी सरगर्मी बढेको छ। जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलहरूका चुनावी सभा दिनहुँजसो भइरहेका छन्।

जिल्लामा ३ नगरपालिका र ७ गाउँपालिकामा गरी १० स्थानीय तहमा चुनाव हुँदै छ। जसअनुसार ३ जना मेयर र उपमेयर तथा ७ जना गाउँपालिका अध्यक्ष र उपाध्यक्षको चुनाव हुनेछ। जिल्लामा रहेका १० स्थानीय तहमा रहेका ८३ वटा वडामा वडा अध्यक्ष र ८३ वडामा ३ सय ३२ सदस्यको चुनाव हुँदै छ। जिल्लामा सबैजसो दल चुनावी माहोल आफ्नो पक्षमा पार्न व्यस्त देखिन्छन्। यो निर्वाचनमा जिल्लाभरबाट १ लाख २५ हजार २ सय ५५ मतदाता निर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतलगायतका केन्द्रीय नेताहरू आफ्नो पक्षमा जनमत बटुल्दै दिनदिनै जिल्लाका विभिन्न स्थानमा हुने सभामा सहभागी भइरहेका छन्।

जिल्ला निर्वाचन कार्यालय सल्यायनका अनुसार हाल मतदाता शिक्षा अभियान जिल्लाभर सञ्चालन गरिएको छ। निर्वाचन आयोगबाट पठाइएका निर्वाचन सामग्रीहरू रुजु गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने, मतपत्र रुजु गर्ने, कर्मचारी व्यवस्थापन तथा खटनपटन गर्ने अन्तिम तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय व्यस्त भएको जिल्ला निर्वाचन अधिकृत महेश शर्माले बताए। दशवटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई कामकाज समेत शुरू गरेको जिल्ला निर्वाचन अधिकृत शर्माले बताए।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, निस्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा योजना तयार गरी जिल्लाका सबै स्थानमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले जानकारी दिए। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नका म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिने प्रमुख जिल्ला अधिकारी बुढाथोकीले बताए। केन्द्रीय सुरक्षा नीतिअनुरूप जिल्ला सुरक्षा योजना तयार पारी अवलम्बन गरिएको प्रजिअ बुढाथोकीले जानकारी दिए। कुनै उम्मेदवारले कारणसहित असुरक्षाको महसुस गरी सुरक्षा मागेमा सरकारले त्यसको व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्