बैतडीमा १० दलले चुनाव चिह्न पाए



बैतडी, १८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका १३ दलमध्ये १० दलले मात्र चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका १३ दलमध्ये १० दलले मात्रै चुनाव चिह्न पाएको उल्लेख छ । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी माले, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी नेपाल, जनजागरण पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी नेपाल (माले–जनसमाजवादी) पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् ।

बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले उपेन्द्र यादव नेतृत्वको पार्टी सङ्घीय समाजवादी फोरम नेपालको चिह्न लिएर चुनाव लड्ने भएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्र चुनाव चिह्न पाएको बताउँदै जिल्ला निर्वाचन अधिकारी फुयाँलले नेपाल दलित पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन नेपाल राष्ट्रिय पार्टी नभएकाले यिनीहरुले चुनाव चिह्न नपाएको बताउनुभयो ।

अन्य दलले चुनाव चिह्न नपाए पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।

यसैबीच, बैतडीमा १८ स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न पनि आएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्