पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल



बेनी (म्याग्दी), १८ वैशाख । म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।

विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनी बजारमा आउने आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बन्न थालेको हो ।

बेनी बजारसँगै जोडिएको खबराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको हो । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउन सकिने म्याग्दीका पर्यटन व्यवसायीको भनाइ छ ।

लभ्लीहिलमा पुग्ने पदमार्ग, रेस्टुराँ, भ्यू टावर, पौडी खेल्ने स्थानलगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्ने विषयमा छलफल भए पनि विभिन्न कारणले योजना अलपत्र अवस्थामा छ ।

सदरमुकाम बेनी आसपासमा ब्यस्त दैनिकीबाट आराम गर्न तथा देशका विभिन्न जिल्लाबाट मुस्ताङ आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीय र सरोकारवाला निकायले पूर्वाधार विस्तारमा चासो देखाउनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो । “अब बेनी बजार आसपासका क्षेत्रका सम्भावनामा पूर्वाधार विस्तार गर्नुपर्छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई एकदिन बेनीमै रोक्नसक्ने गरी पूर्वाधार आवश्यक छ”– बानियाँले भन्नुभयो ।

बेनी नगरपालिकाभित्र विश्वमै महत्व भएका धार्मिकस्थल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उहाँले बताउनुभयो । बेनीबाट करिब आधा घन्टाको दूरीमा अवस्थित लभ्लीहिलबाट बेनीबजार, पर्वतबेनी, गलेश्वर, पुलाचौरको पुलाआश्रम, जगन्नाथ मन्दिरसहित आसपासका क्षेत्रका साथै धौलागिरि, अन्नपूर्ण हिमाल र सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ ।

बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालिगण्डकीको बहाबलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि पूर्वाधार र प्रचारप्रसार भए आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको छ ।

स्थानीय तहको पुनःसंरचनालगत्तै बेनी नगरपालिका र पाँच गाउँपालिका भएको म्याग्दीको सदरमुकाम बेनीमा हुने आर्थिक र प्रशासनिक चहलपहलसमेत घट्ने अवस्थामा आन्तरिक तथा बाहिरी जिल्लाबाट आएकालाई पर्यटकलाई सो पर्यटकीयस्थलमा उचित गाँसबासका लागि पूर्वाधार विकास गर्नुपर्ने र नयाँ पर्यटकीय गन्तव्य बनाउनुपर्ने नगरवासीले बताएका छन् ।

स्थानीय निकायको निर्वाचनको तयारी सुरु भएपछि नपाको नेतृत्वमा आउनेले नगरपालिकाको रुपरेखामा कस्ता योजनालाई समावेश गर्छ भन्नेमा नगरवासीको चासो रहेको छ । बेनी नगरपालिका भित्र नयाँ गन्तब्यमा भकिम्लीको स्वर्गाआश्रम, बेलढुङ्गालगायतका नयाँ र पर्यटकलाई लोभ्याउने स्थलसमेत रहेका छन् ।

सोलेडाँडा पर्यटकीय पूर्वाधारको पखाईमा

‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो बरीलै’..कुनै समय लोकप्रिय लोक गायक खड्ग गबुर््जाले यो गीतमार्फत चिनाएको पर्यटकीयस्थल सोलेडाँडा पूर्वाधारको पखाईमा रहेको छ ।

म्याग्दीको ओखरबोट, रुम र बागलुङको तमान गाविसको लाम्मेलालगायत आसपासका क्षेत्रमा फैलिएको सोलेडाँडामा सडक विस्तारसँगै आन्तरिक पर्यटकको गन्तव्य बने पनि आवश्यक पूर्वाधारको अभावमा समस्या भइरहेको छ ।

“सोलेडाँडा घुम्नकै लागि आउनेको सङ्ख्या बढ्न थालेको छ । एकरात त्यहीँ बिताउन खोज्नेलाई पूर्वाधार नहँुदा फर्कनुपर्ने बाध्यता छ”– ओखरबोटका युवा नवीन पुनले भन्नुभयो । उहाँका अनुसार जिल्ला बाहिरबाट समेत सडकमार्गको प्रयोग गरेर आउने पर्यटकलाई खानेपानी, शौचालय, टेन्टलगायतका आवश्यक पूर्वाधार नहुँदा निरास भएर फर्कने गरेका छन् ।

एककदम अगाडिसम्म अनकन्टार सोलेडाँडा काटेपछि कसैले भेट्न सक्दैन भन्ने मानेर गायक गर्बुजाले गाएको गीतअनुसार नै विकटमा अवस्थित सोलेडाँडाले छिमेकी जिल्ला बाग्लुङको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने तमान, खुंखानी, बुङ्गादोभान र खुङ्गालगायत गाविसका बासिन्दाले आफ्नो जिल्लाको सदरमुकाम बाग्लुङमा पुग्नसमेत प्रयोग गर्ने सोलेडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको ओखरबोट माविका अध्यक्ष दलप्रसाद घर्तीमगरले बताउनुभयो ।

समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा अवस्थित सोलेडाँडा सडक सञ्जालसँग जोडिएपछि बाग्लुङका अति विकट क्षेत्रका बासिन्दाले समेत तीन दिन लगाएर सदरमुकाम जानुपर्ने समस्यालाई एक दिनमै खुम्च्याका छन् । सडकबाट वारपार गर्ने स्थानीय तथा आन्तरिक पर्यटकले सोलेडाँडा आसपासका जङ्गलमा ढकमक्क फुलेको विभिन्न प्रजातिका लालीगुराँस, प्राकृतिक सुन्दरता, धौलागिरि अञ्चलमै सोलेडाँडाबाट देखिने धौलागिरि गुर्जा, चुरेन, अन्नपूर्ण, निलगिरि, माछापुच्छे«लगायत आधा दर्जन हिमशृङ्खला देख्न सक्छन् । चैत, वैशाखमा राताम्मे लालीगुराँस र पुस, माघमा सेताम्मे हिउँ देखिन्छ ।

माओवादी जनयुद्धका क्रममा राज्यपक्षसँग भिड्न बनाइएका सुरुङसमेत भेटिने सोलेडाँडामा पुग्ने आन्तरिक पर्यटक करिब एक घन्टाको दूरीमा रहेको गाँडाखसुङ तालमा समेत पुग्ने गरेका छन् । स्वर्गद्वारी पुग्ने सजिलो र छोटो दूरीको मार्गका रुपमा समेत चिनिने सोलेलाई म्याग्दी र बाग्लुङका बासिन्दाले पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न योजनासमेत बनाएका छन् ।
होमस्टे (घरबास) लगायतका पर्यटकलाई आकर्षित गर्न ओखरबोट र बाग्लुङको लाम्मेला विभिन्न प्याकेज बनाएर काम गर्ने योजनामा दुवै जिल्लाबाट लगानीको आवश्यकता रहेको स्थानीयको भनाइ छ ।

दुई दिनको पैदलयात्रा सडक विस्तारसँगै चार घन्टामा सीमित भएपछि पश्चिम म्याग्दीका दरबाङ, देविस्थान, निस्कोट, रुम गाविसमा रहेका विद्यालयका विद्यार्थी शैक्षिक भ्रमण, वनभोजसमेत जाने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्