मृत भेटिए चर्चित आरोही



काठमाडौं, (नेस)
स्वीट्जरल्यान्डका चर्चित पर्वतारोही उली स्टेकको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ। सगरमाथाको पहिलो आधार शिविर नजिकै हिउँमा चिप्लिएर ४० वर्षीय उलीको निधन भएको हो।

उद्दारकर्ताको समूहले खोंचभित्र टुक्रा–टुक्रा अवस्थामा उनको शव आइतवार फेला पारेका थिए। उनको शव नजिकै अपरिचित अर्का एक व्यक्तिको पुरानो शवसमेत फेला परेको बताइएको छ। उली स्टेक सगरमाथा आरोहण गरी ल्होत्से हिमाल हुँदै फर्किने तयारीका साथ आधार शिविर प्रस्थान गरेका थिए। एक्लै रहेका स्टेक बाटो पहिल्याउन नसक्दा हिउँमा चिप्लिएपछि करिब हजार मिटर तलको खोचमा पर्दा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले जानकारी दिनुभयो।

हेलिकप्टरमार्फत् उनको शवलाई आइतबार दिउँसो लुक्ला ल्याएर पुलिस रिपोर्ट गरिएको र शवको पोष्टमार्टम काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा गर्ने तयारी भएको उहाँले बताउनुभयो। ‘शवको पोष्टमार्टम गरिएपछि स्वीस एम्बेसीमार्फत् उनका आफन्तलाई शव हस्तान्तरण गर्ने तयारी भइरहेको छ,’ ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो। स्वीस मेसिनको उपमा पाएका स्टेकले यसअघि सन्् २०१२ र सन् २०१५ मा विना अक्सिजन सगरमाथा आरोहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्