सडक निर्माणमा जुट्दै महिला



वीरबहादुर बम, मुगु
आगोले ढुंगा तताउँदै कम्मरमा हँसिया दुई हातले गरुंगो साबेलले पत्थर फोड्दै छिन् रारा–१ की हाँसादेवी बम। न त घरधन्दा न त गाईगोरु सबै थाती राखेर पैसाका लागि उनी दैनिक सडक खन्न खटिएकी छन्। गाउँमा ठूलो विकास आएपछि उनलाई उत्साह छ। देशको संविधानभन्दा हाँसादेवीलाई दैनिक गुजराको चिन्ता छ।

‘पेटमा पटुका बाँधेर साबेल गैंतीले सडक खनेर बालबच्चा पाल्नुपरेको छ’, उनले भनिन्– ‘रयाप कार्यक्रम आउँदा हामीले पैसा कमाउन पायौं।’ ‘पैसा कमाएर बालबच्चा पढाउँला लुगा रोटी फेरौंला’ –उनले बताइन्। ‘पैसा हुने धनी र व्यापारीले गाउँदेखि शहरसम्म घरघडेरी किनेर मोजमस्तीमा दिन बिताएका छन्’, रारा–२ की छत्ता बुमीले दुखेसो पोख्दै भनिन्– ‘हामी गरिब महिलाले सडक खनेर पेट पाल्नु छ।’

बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम र स्थानीय साझेदारी संस्था आरआरडीसीले गमगढीदेखि रारा गिलाहासम्मको दोस्रो चरणको सडक निर्माण शुरू गरेपछि महिलाले काम पाएका छन्। श्रीनगर गाविसकी सीमित जानसिला मात्र नभएर कार्कीबाडा, हेन्निकाध, तलितुम, माथितुम, निगाली, छत्यालबाडा, पुलिनिगालेलगायत गाउँबस्तीबाट सयौं महिला पुरुष सडक खन्न ओइरो लागेका छन्।

अधिकांश महिला पुरुषले सातुसामल लिएर पुलीगाउँको खोलातिर पाल टाँगेर दिन सडकमा होमिएका छन्। एकातिर पैसा अर्कोतिर सडकले गाउँमा गाडी पुग्ने आशाले खोल्सादेखि पाखासम्म मान्छेको ताँती छ। उक्त सडक निर्माणमा दैनिक १ हजार २ सय ६० जनाभन्दा बढी महिला पुरुष सहभागी हुने साझेदारी संस्था आरआरडीसीका सामाजिक परिचालक पीआर मल्लले भने– ‘सडक निर्माणकै लागि ३४ वटा समूह गठन गरिएको छ।’
निगाले गाउँदेखि पुलीसम्म कोही खाना नास्ता पकाउँदै कोही सडक खन्दै कोही पानी दाउरा ओसार्दै गरेको दृश्यले पाखापखेरा वनजंगल रमणीय देखिएको छ। दिसा पिसाबले वातावरणीय प्रदूषण नहोस् भन्ने हिसाबले ठाउँठाउँमा अस्थायी शौचालय पनि निर्माण गरिएको छ। समितिका पदाधिकारीले पनि उक्त कुरालाई बढी निगरानीमा राखेका छन्। जागिरको आशाले उच्च शिक्षा हासिल गरेका युवायुवती भोक प्यास घाम थकाइ नमानेर हातमा बेल्चा र गैंती लिएर सडक छिचोल्नतिर लागेका छन्। ‘पैसा नभई काम चल्दैन’ –उनीहरूको कथन छ।

घरमा बेकामे बस्दा साहुले पनि उधारो नपत्याउने श्रीनगर छत्यालबाडा गाउँका एक युवक दत्तलाल नेपालीले भने– ‘यस्तै विकास आउने हो भने किन जागिर खानु, किन भारत जानु, जसरी पनि पैसा त कमाउने हो।’ ज्यालादारी काम खोज्दै हरेक वर्ष भारत पलायन हुने यहाँका दलित गरिब स्थानीयबासी यो पटक घरमै बसेर सडक खन्दै जीविका निर्वाह गर्न थालेका हुन्। पहिलो चरणको सडकमै मनग्य पैसा आर्जन भएको कामदारको भनाइ छ। ‘सडकमा काम गर्दै कमाएको पैसाले घर बनाउँदै छु –चैन गाउँका चक्की नेपालीले बताए। अघिल्लो पटक सडक खनेर ६० देखि ७० हजार कमाएको तलितुम गाउँका भीमबहादुर तिरुवाले सुनाए।

प्रतिक्रिया दिनुहोस्