सीमाबासी भन्छन्ः नाकाबन्दी खुलाउनेलाई भोट



चुनाव त नेतालाई लाग्छ, हामीलाई के चासो ? दुई वर्षसम्म नाका सञ्चालन नहुँदा राजनीतिक दलहरूले केही गर्न नसकेको सीमाबासीहरूको बुझाइ छ।

नानीराम नेपाल⁄सिन्धुपाल्चोक

राष्ट्रिय राजनीतिको माहौल हेर्दा तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधार छ। यही दोधारको बीचमा पनि जिल्ला जिल्लामा चुनावी माहौल तातेको छ। सिन्धुपाल्चोक जिल्लाका प्रमुख बजार केन्द्रहरूमा चुनावी सरगर्मी तीव्र बनिरहँदा नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीमा भने चुनावको तातो छैन।

विनाशकारी भूकम्प र गतसालको भोटकोसी बाढीले अस्तव्यस्त बनाएको सीमाक्षेत्रमा चुनावी चहलपहल छैन। सीमाबासीमा स्थानीय तहमा नेतृत्व चयनको रहर छैन, नाका खुलोस भन्ने एउटै चाहना छ। चुनावको चासो छैन, नाका सञ्चालनको आशा मात्र छ सीमावासीमा।

बाढीले कुरूप बनाएको भोटेकोसीको बगर, सयौं मानिसहरू मजदुरी गरिरहेका छन्। चैतको चर्को घामको कुनै पर्वाह नगरी बगरको राप सहँदै सीमा क्षेत्रका स्थानीयहरू यतिबेला बगरमा ढुंगा खेपिरहेका छन्। तातोपानी नाकामा चिनियाँ सामाग्रीको भारी बोकेर जीवन धान्दै आएकाहरू यतिबेला बगरको ढुंगा बोकिरहेका छन्। नाम्लो उही हो, थाप्लो तिनै हुन् मात्र भारी फेरिएको छ सीमाबासीको। साविकको तातोपानी गाउँ विकास समितिकी धनकुमारी गुरुङले नाकामा बसेर दुई दशकसम्म भारी खेपिन्। दुई दशकका बीच उनले कति भारी बोकिन उनैलाई भेउ छैन। तर बीस वर्षको अवधिमा करोडौं मूल्यबराबरका चिनियाँ सामान उनकै थाप्लोले नेपाल भित्र्याएको छ। उनैले भारी बोकिदिएर ब्यापार गरेका थुपै्र मानिसहरूले ब्यापारमा फड्को मारेका छन्। तर आज नाका बन्द हँदा उनका लागि जीवन धान्नै हम्मे परिरहेको छ। बीस वर्षसम्म नाकामा भारी खेपेकी उनी आज भोटेकोसी बगरमा ढुंगा बोकिरहेकी छन् ।

‘गरिखानै पर्यो अब ढुंगा नबोकेर के गर्नु’, भोटेकोसी बगरमा ढुंगा बोकिरहेकी धनकुमारी भन्छिन्– ‘कमाइ खाने मेसो नभएपछि ढुंगा बोकिरहेकी छु।’ हो, बगरका बडेमान ढुंगासँगै यतिबेला धनकुमारी जस्ता सयौं भरिया मजदुरहरू नाका सञ्चालनको आशा बोकिरहेका छन्। अनि नाकामा भारी आसोरेर जीवन धान्ने विश्वास बोकिरहेका छन्। ढुंगा खेपेर उनीहरू नाका सञ्चालनको मिति पर्खिरहेका छन्। ढुंगा बोकेर दैनिक जीवन चलाउने चटारो छ, नाका सञ्चालनको पर्खाइ छ। तर दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको चासो छैन।

हुन त ०५४ सालको स्थानीय तह निर्वाचन ताका नै हो धनकुमारीले नाकामा भारी खेपेर जीवन धान्न थालेको। यसबीचमा भोटेकोसीमा धेरै पानी बगिसक्यो र भोटेकोसीको त्यही पानीमा धनकुमारीको पसिना पनि मिसिएर बगेको छ। स्थानीय तहको निर्वाचन नभएको जति समय भयो, नाकामा धनकुमारीले भारी बोक्न थालेको पनि त्यति नै समय भयो। बीस वर्षपछि हुन लागेको चुनावको चासोभन्दा पनि बीस वर्षदेखि बोक्दै आएको भारी खोसिएकामा चिन्ता छ उनलाई। ठूला–ठूला भारी खेपेर जीवन धान्दै आएका धनकुमारीहरूलाई दुई वर्षसम्म नाका बन्द हुँदा आफ्नै जिन्दगी भारी झैं बनिरहेको छ।
‘काम नै खोसियो, रोजीरोटी नै गुमेको छ’, उनी भन्छिन्– ‘चुनाव त नेतालाई लाग्छ, हामीलाई के चासो ?’ दुई वर्षसम्म नाका सञ्चालन नहुँदा राजनीतिक दलहरूले केही गर्न नसकेको उनको बुझाइ छ। नाका नखुल्ने हो भने स्थानीय तह निर्वाचनमा भोट नै नहाल्ने मनस्थितमा पुगेकी छन् उनी। ‘भारी बाकेर खान्छु भन्दा त पाइएन, कसलाई भोट दिएर के हुन्छ ?’, नाका नखुल्दाको पीडा ओकलिन उनले– ‘नाका खुल्दैन भने कसैलाई नि भोट हालिँदैन।’

साविकको हगाम–५ याङलाकोटकी विष्णुमायाँ तामाङले पनि दशवर्षसम्म तातोपानी नाकामा भारी बोकिन्। नाकामा भारी बोकेरै उनी दैनिक दुई हजारसम्म कमाउँथिन्। नाकाको भारीले नै उनको परिवार पाल्यो, जीवन धान्यो। तर नाका बन्द हुँदा उनको भारी मात्र खोसिएन, जीवन धान्ने आधार नै खोसियो। नाकासँगै कमाउँने आधार बन्द भएपछि भोटेकोसीको बगरमा ढुंगा बोकेर जीवन धान्ने आधार खोजिरहेकी छन् उनी पनि।

दुई वर्षसम्म नाका खुलेन, र सँगै नाकामा भारी बोक्ने विष्णुमायाँहरूका मुहार खल्नु सकेका छैनन्। स्थानीय तह निर्वाचनले गाउँबस्तीमा उल्लास ल्याएको छ तर नाका सञ्चालनको पर्खाइमा बाँचिरहेकामा सीमाबासीमा चासोसम्म जाग्न सकेको छैन। ‘नाका खुलेन, दुःख गरेर खाने ठाउँ नै छैन’, उनी भन्छिन्,– ‘चुनावको मतलव भएन, नाका कहिले खुल्छ भन्दिनुपर्यो।’ उनी पनि जसले नाका खुलाउँछ स्थानीय तह निर्वाचनमा उसैलाई भोट दिने बताउँछिन्।‘नाका खुल्दैन भने त किन भोट दिनु?’ उनी भन्छिन्– ‘नाका खुलाऊ, भोट लैजाऊ।’

विनाशकारी भूकम्प र गतवर्षको भोटेकोसी बाढीका कारण सीमाक्षेत्रमा ठूलो भौतिक क्षति भयो। सडक र अन्य पूर्वाधारहरू क्षति भएपछि नेपाल चीनको प्रमुख ब्यापारिक नाका बन्द हुनपुग्यो। नाका बन्द हुँदा राज्यले १५ अर्ब बढी राजश्व घाटा ब्यहोरेको छ, ब्यापारीहरू पलायन भएका छन्।

नाका बन्द भएसंगै नाकामा आश्रित हजारौं स्थानीयका रोजीरोटी नै गुमेको छ। नाकामै आश्रित भरिया र मजदुरहरूलाई चुनावको चासो छैन। चुनावको चासो भन्दा नाका खुलोस् भन्ने एउटै चाहना
छ उनीहरूको।

प्रतिक्रिया दिनुहोस्