कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो



सरिता चलाउने, सल्यान
स्थानीय तहका निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ७ गाउँपालिका र ३ नगरपालिकाका उम्मेदवारहरू छनोट गरेको छ। वन्गाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी मेयर र मञ्जु यरी उपमेयर, बागचौर नगरपालिकामा मेयर लोकमान बुढाथोकी, उपमेयर कल्पना पुन, शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ, उपमेयर झरणा बुढाथोकी नाम छनोट भएको माओवादी केन्द्र सल्यानले जनाएको छ।

दार्मा गाउँपालिकामा अध्यक्षमा नीमराज केसी, उपाध्यक्षमा टीका वली, छत्रेश्वरीमा चित्रबहादुर केसी र राधा शर्मा, त्रिवेणीमा अजय रोका र लीलावती बुढा, कपूरकोटमा प्रकाश भण्डारी र एलिना राना, ढोडचौरमा नरवीर चलाउने र भूमि बुढाथोकी, कुमाखमालिका गाउँपालिकामा अध्यक्ष दिलमाया बुढा, उपाध्यक्षमा डिल्लीराज शर्मा, कालिमाटी गाउँपालिकामा पुरुषोत्तम भट्टराई अध्यक्ष र प्रीति डिसी उपाध्यक्ष रहेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेवबहादुर कँवरले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सबै गाउँ र नगरपालिकाको नाम टुंगो लाग्यो।’

यसै गरी नेपाली कांग्रेसले पनि गाउँ र नगरपालिकाका उम्मेदवारको टुंगो लगाएको जिल्ला सभापति गणेश चन्दले जानकारी दिनुभयो। शारदा नगरपालिकाको मेयरमा सुरेश अधिकारी र उपमेयरमा सावित्रा बस्नेत, बागचौर नगरपालिका मेयरमा गोरखबहादुर खत्री, उपमेयर मेनका चन्द, वनगाड कुपिन्डे नगरपालिकामा मेयर दिपेन्द्र विष्ट र उपमेयरमा लक्ष्मी सुनार रहेका छन्।

यसैगरी ढोरचौर गाउँपालिकामा अध्यक्ष नरवीर चलाउने, उपाध्यक्ष विमला रेउले, कुमाखमालिका गाउँपालिकामा अध्यक्ष विवेकसिंह राठौर, उपाध्यक्षमा उर्मिला राणा, दार्मा गाउँपालिकामा अध्यक्ष रामचन्द्र केसी, उपाध्यक्षमा विमला चन्द, त्रिवेणी गाउँपालिकामा अध्यक्ष मानबहादुर डाँगी, उपाध्यक्ष करुणा गिरी, कपूरकोट गाउँपालिकामा अध्यक्ष दुर्गा गिरी, उपाध्यक्ष ओकी महतारा, कालिमाटी गाउँपालिकामा अध्यक्ष भरत पुन, उपाध्यक्ष कमला अधिकारी, छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष सन्तोष केसी, उपाध्यक्षमा सीता केसी रहेको जिल्ला सभापति गणेश चन्दले जानकारी दिनुभयो।

यसैबीच एकीकृत नेकपा माओवादीका सात जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। उनीहरूले माओवादी केन्द्रीय सदस्य, जिल्ला कमिटी बागचौर नगर कमिटीलगायत सबै तहका जिम्मेवारीबाट आफूहरूले राजीनामा दिएको बताएका छन्।

राजीनामा दिने केन्द्रीय सदस्यहरूमा ज्ञानबहादुर वली माइकल, टीकाराम वली दर्शन, सेतीराम वली दिनेश, हरिलाल डिसी दोभान, सुम्निमा डिसी निर्माता, टंकप्रसाद शर्मा सौगात र कमला वली शृंखला रहेका छन्। उनीहरूले माओवादी केन्द्रको प्रदेश नम्बर ६ ले अन्यायपूर्ण ढंगले बागचौर नगरपालिकाका लागि मेयर र उपमेयरको छनोट गरेको भन्दै राजीनामा दिएका हुन्।

विज्ञप्तिमा उनीहरूले भनेका छन्– ‘माओवादी केन्द्रको प्रदेश नम्बर ६ ले मेयर र उपमेयर छनोटका क्रममा अत्यन्त हचुवापूर्ण, पूर्वाग्रही, शहीद परिवारको भावना विपरीत, वास्तविक धरातलबाट भन्दा बाहिरबाट लादिएको ठहर गरेका छौं।’ उनीहरूले अन्तरिम विद्यायक टीका बुढाथोकी, संविधानसभा सदस्य टेकबहादुर बस्नेत, सल्यान–रुकुम यातायातका अध्यक्ष लोकमान बुढाथोकी, सल्यान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एउटै टोलको हुँदाहँुदै पनि मेयर पनि सोही टोलमा लिन खोज्नु कार्यकर्ताको भावना विपरीत हुने बताएका छन्। राजीनामा दिने सातै जना केन्द्रीय सदस्य बागचौर नगरपालिकाका हुन्।

लामो समयदेखि पार्टीमा त्याग गरेका र पुराना अग्रज नेताहरू हँुदाहँुदै सल्यान–रुकुम यातायातको अध्यक्ष लोकमान बुढाथोकीलाई टिकट दिइएको उनीहरूले बताएका छन्। उनीहरूले प्रदेश कमिटीले निर्णय नसच्याउँदासम्मलाई राजीनामा दिएको बताएका छन्।

राजीनामा दिएका माओवादीका केन्द्रीय सदस्य ज्ञानबहादुर वलीले प्रदेश कमिटीको गलत निर्णयबाट विचलित नहुन र गलत कामको विरुद्ध डटेर लाग्न कार्यकर्तालाई अपिल गर्नुभयो। पार्टीमा माओवादीको प्रदेश नम्बर ६ को बैठकले बागचौर नगरपालिकामा मेयरको उम्मेदवारका रूपमा लोकमान बुढाथोकी एलमान र उपमेयरका रूपमा कल्पना पुन रचनालाई अघि सार्ने निर्णय गरेको थियो। माओवादी केन्द्रको बागचौर नगरपालिकाले मेयर र उपमेयरमा सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न नसकेपछि मेयर र उपमेयरमा ३⁄३ जनाको नाम जिल्लामा सिफारिस गरेको थियो भने जिल्लामा निर्णय गर्न नमिल्ने भएकाले नगरबाट सिफारिस भएका नाम जस्तातस्तै सबैको नाम प्रदेश कमिटीमा पठाइएको थियो।

माओवादी केन्द्रले बागचौर नगरपालिकाबाट सिफारिस गरिएका मेयरका ३ जना उम्मेदवारमा लोकमान बुढाथोकी, ज्ञानबहादुर वली र टीकाराम वली थिए भने उपमेयरको उम्मेदवारका रूपमा कल्पना पुन, सुम्निमा डिसी, कमला वलीलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्