स्वास्थ्यमन्त्रीले सोधे, सरकारी अस्पतालमा किन असन्तुष्टि ?



नेपाल समाचारपत्र
काठमाडौँ
क्यान्सर उपचारमा प्रोटोकल रिभ्यु कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारी डाक्टरहरूलाई प्रश्न तेस्र्याउँदै भन्नुभयो– ‘तपाईंहरू नै संलग्न रहेका निजी अस्पताल उच्च गुणस्तरीय हुने अनि सरकारी अस्पतालको सेवामा भने सधैं असन्तुष्टि किन? ’

सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले मन्त्रालयले निमन्त्रणा गरेको छलफल कार्यक्रममा समेत सहभागी नभई चिकित्सकहरू निजी अस्पतालमा गएको भन्दै मन्त्री थापाले सरकारी अस्पतालको सेवा यस्तै भएर कमजोर भएको आरोप लगाउनुभयो। यीनै कारणले गर्दा सरकारी अस्पतालमा काम गर्ने चिकित्सकहरूलाई निजी अस्पताल तथा क्लिनिकमा काम गर्नुपूर्व स्वीकृति लिनुपर्ने नियम मन्त्रालयले जारी गरेको हो।

मन्त्री थापाले स्वास्थ्य मन्त्रालय सम्हालेदेखि विगत ६ महिनाको अवधिमा आफूले थुपै्रपटक स्वास्थ्यकर्मी तथा चिकित्सकहरूसँग छलफलमा बसेर कार्ययोजना तर्जुमा गर्नुका साथै नीतिगत रूपमै थुपै्र निर्णयहरू गरेको जनाउँदै तर पनि सरकारी चिकित्सकहरूले सरकारले दिएको पुगेन भन्ने गुनासो मात्र गरिरहने भन्नुभयो। सरकार डाक्टरहरूका माग पूरा गर्न हर तरहले तयार छ भने डाक्टरहरू पनि सरकारले दिएको निर्देशन पालना गर्न तयार हुनुपर्छ भन्दै यसो नगर्ने हो भने कसरी हुन्छ स्वास्थ्य क्षेत्रको विकास मन्त्री थापाले भन्नुभयो।

उहाँ भन्नुहुन्छ– ‘सरकारले डाक्टरहरूले दिएको सल्लाहकै आधारमा योजना तर्जुमा गर्दै गएको छ। तर पनि सरकार मुठ्ठी खोलेको खोलेकै डाक्टरहरू मनमा कुरा खेलाएर असहयोग गरेको गरेकै गर्छन् भने कसरी हुन्छ सरकारी अस्पतालको विकास?’ सरकारले देशभरका सरकारी स्वास्थ्य संस्था सुधारका लागि काम अगाडि बढाइरहेको बताउँदै मन्त्री थापाले सरकारको मातहतमा काम गर्दै आउनुभएका डाक्टरलाई आफ्ना कुरा सरकारसमक्ष खुला हृदयले राख्नसमेत आग्रह गर्नुभयो।

ग्रामीण भेगमा स्वास्थ्य सेवा सुधारको खाँचो रहेको अवस्थामा सबै क्षेत्रबाट उत्तिकै सहयोगको खाँचो रहेको कुरा मन्त्री थापाले औल्याउँदै भन्नुभयो– ‘हरेक क्षेत्र तयार छ। तपाईंहरू साथ दिनोस्। गाउँ–गाउँमा स्वास्थ्य सेवा प्रदान गरी नमूना जनस्वास्थ्य बनाउन नेपाल सक्षम हुनेछ’, मन्त्री थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्