ऊर्जा दक्ष भवन विषयमा स्नातकोत्तर कक्षा



काठमाडौं, (नेस)
घर निर्माण सञ्चालन तथा मर्मत सम्भारमा व्यापक उर्जाको प्रयोग हुने गरेको छ। घरमा प्रयोग भएको उर्जाको परिमाणलाई विकसित समाजको मापकको रूपमा हेर्ने गरिएको छ। झण्डै ८० प्रतिशत उर्जाको प्रयोगबाट घर बनेका हुन्छन्। ती सबै प्राकृतिक उर्जा होइनन्। खनिजजन्य उर्जाले मानवको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ। अब के गर्ने त ?

यसै विषयलाई मध्य नजर गर्दै नेपालमा पहिलोपटक उर्जा दक्ष भवन( इनर्जी इफिसियन्सी बिल्डिङ एमएसईईबी) विषयमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न लागेको छ। अधिकतम मात्रामा वैकल्पिक उर्जाको प्रयोग हुने गरी सुविधा सम्पन्न घर निर्माणको प्रविधि सिकाउन नयाँ कोर्षको विकास गरिएको हो। शहरी विकासले नयाँ गति प्राप्त गरिरहेको र नयाँ शहरहरूको बृहत्तर योजना तर्जुमा गर्नुपर्ने तथा घरहरू प्रयोजनअनुसार सुविधा सम्पन्न बन्नुपर्ने अहिलेको अवस्थामा तदनुरूप जनशक्ति विकास अहिलेको आवश्यकता भएकाले नयाँ कोर्षको पठनपाठन सञ्चालन गरिएको वास्तुकला विभाग पुल्चोक क्याम्पसका निर्देशक प्राडा. भरतराज पहारीले जानकारी दिनुभयो।

भोलि मंगलबारबाट शुरु हुन लागेको नयाँ विषयको उद्घाटन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न वज्राचार्यले अध्ययन संस्थानले सञ्चालन गरेको २४ विषयको कोर्षमध्ये यो कोर्ष महत्वपूर्ण रहेको जानकारी दिनुभयो। उहाँले अहिलेको समयमा वातावरणमैत्री घरको आवश्यकता बढ्दै गएकाले नयाँ विषयको शुरुआत गरिएको जानकारी दिनुभयो।

मानव सभ्यताको विकासक्रममा भवन र यसको निर्माणले विशेष महत्व राख्ने गरेको छ। सुसंस्कृत र विकसित सभ्यताको पर्यायवाचीका रूपमा भवन र बस्ती विकासलाई लिने गरिन्छ। मानिसको सुरक्षाका लागि होस वा सहज जीवन सञ्चालनका लागि, उद्योग व्यवसाय सञ्चालनका लागि होस् वा सार्वजनिक कार्यहरू गर्न, घर वा भवनको आवश्यकता हुने गरेको अवस्थामा नयाँ विषयमा स्नातकोत्तर तहको सञ्चालन गरिएको कार्यक्रम संयोजक डा. सञ्जय उप्रेतीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्