महाअभियोगपछि सामाजिक सञ्जालमा चर्को आलोचना, ‘दलतन्त्र भनेको दलालतन्त्र आएछ’



नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग आपत्तिजनक भएको ट्विटरमार्फत् प्रतिक्रिया दिनुभएको छ। थापाले ट्विट गर्दै भन्नुभएको छ– ‘प्रधानन्यायाधीश कार्कीविरुद्ध कांग्रेस–माओवादी केन्द्रले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण।’

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विट गर्दै भन्नुभएको छ– ‘राज्यका सबै अंग एकपछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त ? महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित हुन्छ ?’

यस्तै, नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेलले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै भन्नुभएको छ– ‘सत्तारुढ दलहरूको स्वेच्छाचारी हर्कत हेर्दा अर्को जनआन्दोलन अपरिहार्य बन्दै छ। त्यो जनआन्दोलन स्वाधीनता र स्वाभिमानका पक्षमा आफ्नो निर्णय आफैं गर्न सक्षम र पूर्णस्वतन्त्र राज्यको निर्माणका लागि हुनेछ।’ काष्ठ व्यवसायी कपिल अधिकारीले फेसबुकमा लेख्नुभएको छ– ‘अब न्यायपालिकाको अधिकार पनि कार्यपालिकाले नै लिने हो कि ? लाजमर्दो सरकार।’
सामाजिक प्रयोग कर्ता नानु अर्याल ट्विट गर्दै भन्नुहुन्छ– ‘हैट, लोकतन्त्रको पहरेदार ठान्ने नेपाली कांग्रेसले न्यायालयमाथि यस्तो बर्बर आक्रमण ? हेक्का छ⁄छैन चुनावबाट जनताको महाअभियोग पास हुँदै छ, तिम्राविरुद्ध।’

पत्रकार रामेश्वर बोहराले ट्विट गर्दै भन्नुभएको छ– ‘संक्रमणकालमा पनि विधि बलियो पार्न नडग्मगाएको न्यायालयमा हमला।’ अर्का चर्चित पत्रकार नारायण वाग्लेले भन्नुभएको छ– ‘दलतन्त्र ल्यायो भनिएको दलालतन्त्र आएछ। स्वतन्त्र न्यायपालिका जोगाउन जनता नै जाग्नुपर्ने भएन त ?’

अधिकारकर्मी सुबोध प्याकुरेलले ट्विटमार्फत भन्नुभएको छ– ‘कृपयाँ बोलाई र गराईमा सामञ्जश्यता देख्न पाइयोस्। महाअभियोगको प्रस्तावको पक्षमा तपाईंको मतदान भएनछ भने पत्याउँला।’

प्रतिक्रिया दिनुहोस्