अस्पतालको वार्षिकोत्सव सम्पन्न



नेपाल समाचारपत्र
भक्तपुर
मध्यपुर थिमी नगरपालिकाद्वारा मेचडाँडा ठिमीमा सञ्चालित कोरिया–नेपालमैत्री अस्पतालको आठौं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ। वार्षिकोत्सव कार्यक्रममा बोल्दै सरोकारवालाले अस्पताललाई आगामी आर्थिक वर्षदेखि नेपालका ७ सय४४ वटा स्थानीय निकायका कर्मचारीको उपचारका लागि एकमात्र मुख्य अस्पतालको रूपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ।

सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका कर्मचारीका लागि काठमाडौंको मीनभवनमा निजामती कर्मचारी अस्पताल स्थापना गरेजस्तै स्थानीय विकास मन्त्रालय मातहतको मध्यपुर ठिमी नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपालमैत्री अस्पताललाई मुलुकका ७ सय ४४ स्थानीय निकायका कर्मचारीको उपचारका लागि एकमात्र केन्द्रीय अस्पतालको रूपमा विकास गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुर ठिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बताउनुभयो।

अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ छारेरोग विशेषज्ञ डा. दीपेन्द्रकुमार रोशनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको एकमात्र केन्द्रीय अस्पतालको रूपमा विकासका लागि मन्त्रालयसँग पटक–पटक प्राविधिक र बजेट विनियोजनबारे छलफल गरिएको बताउनुभयो।

कार्यकारी निर्देशक डा. रोशनका अनुसार सम्बन्धित मन्त्रालयबाट आगामी आर्थिक वर्षमा वजेट विनियोजन हुने वित्तिक्कै आफूहरू सो अस्पतालमा थप उपचार सेवा विस्तारसहित नयाँ मोडेलमा जाने तयारीमा रहेको छ।

कार्यकारी निर्देशक डा. रोशन, प्रशासन प्रमुख कैलाशप्रसाद देव, पत्रकार बलराम प्यासी तथा ठिमीका स्थानीय मध्यपुर ठिमीका स्थानीय सहयोगी विष्णुप्रसाद बस्यालसहितको टोली सो कार्यका लागि विगत ६ महिनादेखि सक्रियतापूर्वक लागिपरेको छ।

यसका साथै सो अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गर्दै केन्द्रीय स्तरको छारेरोग रिफरल अस्पतालको रूपमा पनि विकास गरिने उल्लेख गर्दे कार्यकारी निर्देशक डा. रोशनले गत १ वर्षको अवधिमा सो अस्पतालमा ७ सय ९१ जना छारेरोगका बिरामीको उपचार गरिएको बताउनुभयो।

वार्षिकोत्सवको अवसरमा प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले अस्पतालमा १० वर्षदेखि १५ वर्षसम्म काम गरेका चिकित्सक, प्राविधिक तथा कर्मचारीहरूलाई दीर्घसेवा पदक र प्रशंसापत्र वितरण गर्नुभयो। यसरी दीर्घसेवा पदक पाउने चिकित्सकहरूमा अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ छारेरोग विशेषज्ञ डा. दीपेन्द्रकुमार रोशन, वरिष्ठ पेटरोग विशेषज्ञ जितेन्द्रकाजी श्रेष्ठ, सुपरभाइजर बच्चुराम थापा, ल्याब असिस्टेन्ट सजना श्रेष्ठ, सिनियर सीएमएद्वय राजाराम वाग्ले र राजु क्षत्री, कार्यालय सहयोगी सानुभाइ खत्री र चालक कृष्णचन्द्र वाग श्रेष्ठ छन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले स्थानीय सर्वसाधारणका लागि दिएको उपचार सेवाको खुलेर प्रशंसा गर्दै अस्पतालको विकास र स्तरीय सेवामा जोड दिनुभयो। सो अवसरमा मध्यपुर ठिमी नगरपालिकाका कानुन अधिकृत केशव सिलवाल, कोरियाको रोज क्लबका प्रतिनिध तथा कोरया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का प्रतिनिधि डा. किमको पनि उपस्थिति थियो।
स्थानीय राजनैतिक हस्तक्षेपबाट माथि उठेर कोरिया–नेपालमैत्री अस्पतालले हाल सर्वसाधारणका लागि दिएको उपचार सेवाको साथै स्थानीय नगरबासीका लागि केही वर्षअघिदेखि शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम यतिखेर नमुना र चर्चाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्