कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेपछि समस्या



ईश्वरराज ढकाल, काठमाडौं
कक्षा १२ को थुप्रै विषयमा प्रश्नपत्र नपुगेको खुलेको छ। पूरै विषयमध्ये केहीको बाहेक सबै विषयको प्रश्नपत्र नपुगेको राष्ट्रिय परीक्षा बोर्ड स्रोतले जनाएको छ।

वैशाख १० गतेदेखि शुरु भएको परीक्षाको पहिलो दिन नै प्रश्नपत्र नपुगेपछि बोर्डलाई प्रश्नपत्र पुर्याउन हम्मे परेको थियो। अधिकांश विषयमा प्रश्नपत्र नपुगेपछि बोर्डको बैठकले चार दिनअघि कामु परीक्षा नियन्त्रक सन्तोष अर्याललाई हटाएको थियो। जनक शिक्षा सामग्री संस्थान लिमिटेडमा छपाइ गरेको प्रश्नपत्र प्याक गर्दा आंशिक विषय दिने विद्यार्थीको संख्या यकिन नगरेका कारण समस्या परेको हो। बोर्डको क्षेत्रीय कार्यालयका प्रमुखलाई परीक्षाको दिन प्रश्नपत्र पुर्याउने समस्या भएको छ। क्षेत्रीय प्रमुखले चासो नदेखाएपछि जिल्ला शिक्षा अधिकारीसँग हारगुहार गरेर थप प्रश्नपत्रले काम चलाइरहेका छौं– काठमाडौंकै एक केन्द्राध्यक्षले नेपाल समाचारपत्रसँग भन्नुभयो।

‘बोर्डले १० प्रतिशत बढी प्रश्नपत्र छपाइ गरेर सोहीअनुसार व्यवस्थापन गरे पनि विद्यार्थी संख्याअनुसार प्रश्नपत्र नपुगेका कारण फोटोकपी गरेर प्रश्नपत्र वितरण गरिरहेको छ। परीक्षाको दिन आयो कि प्रश्नपत्र नपुगेर हैरानी खेप्नु परिरहेको छ’ –ती केन्द्राध्यक्षले भने। प्रश्नपत्र नपुगेपछि बोर्डको परीक्षा नियन्त्रण कार्यालयले अनुगमन गर्न खटाएका कर्मचारीलाई समेत सुटुक्क प्रश्नपत्र बोकाएर पठाउने गरेका छन्। अति संवेदनशील मानिएको परीक्षाको प्रश्नपत्र फोटोकपी गरेर वितरण गरेका कारण बोर्डको बैठकले कामू परीक्षा नियन्त्रक सन्तोष अर्याललाई हटाएर निमित्त नियन्त्रक जयन्ती सत्याललाई जिम्मेवारी दिएको थियो। अहिले निमित्त नियन्त्रक सत्याललाई सबै केन्द्रमा थप प्रश्नपत्र पुर्याउन हम्मे परिरहेको छ। हिजो आइतबार सञ्चालन भएका करिब एक दर्जन विषयका प्रश्नपत्र नपुगेर हैरान भएको थियो।

कामु परीक्षा नियन्त्रकलाई जिम्मेवारीबाट हटाए पनि बोर्डका सदस्य सचिव दिल्ली रिमाललाई कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा प्रश्न गर्न थालेका छन्। बोर्डका एक कर्मचारीले भने– ‘दोषी जति सबैलाई कारवाही गर्नुपर्छ। प्रश्नपत्र नपुगेपछि हटाइएका अर्यालको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ।

मन्त्रालयका सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा गठित समितिमा दिल्ली लुईंटेल र ज्ञानेन्द्र वन सदस्य रहनुभएको छ। संयोजक एवं प्रवक्ता डा. लम्सालले अनुसन्धान भइरहेको र केही दिनमै प्रतिवेदन पेश गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘कति प्रश्नपत्र छपाइ गरिएको हो, त्यस विषयमा तथ्याङ्क खोजिरहेका छौं। आज सोमबार तथ्याङ्क आएपछि थप निर्णय गर्नेछौं।’ उता बोर्डले पाठ्यक्रम महाशाखामा कार्यरत भवराज कोइरालालाई कर्मचारी प्रशासन महाशाखामा सरुवा गरेको छ। निर्वाचन आचारसंहिता विपरीत सरुवा गरेकोमा कर्मचारीले आपत्ति जनाएका छन्। कामविहीन बनेका कोइरालालाई अर्याललाई हटाइएकै दिन सरुवा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्