महोत्तरीमा चुनावी अन्योलता



लक्ष्मीकुमार साह, महोत्तरी ।
सरकारले स्थानीय तह पुनरावलोकनका लागि ११ जिल्लामा गरिएको परिपत्र फिर्ता लिएसंगै महोत्तरीमा बल्लतल्ल हुन लागेको चुनाव पुनः अन्योलमा परेको छ ।

सरकारले मधेसी मोर्चासँग २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने सहमति गरेर जिल्ला समन्वय समितिलाई पत्र पठाएको थियो । जिल्लाका गाउँ र नगरपालिकाको संख्या र सिमाना पुनरावलोकन गर्न स्थानीय विकास मन्त्रालयमा सुझाव पठाउन पत्राचार भएको थियो । तर, नेकपा एमालेले स्वीकार नगरेपछि सरकारले पत्र फिर्ता लिने निर्णय गरेको थियो ।

नेकपा एमाले क्षेत्र नं. ३ का निर्वाचित सांसद रामदयाल मण्डलले राजनीतिककर्मीहरुले निर्वाचनमा भाग लिएर आफनो अधिकार सुनिश्चित गर्नुपर्ने बताए । सरकारले यसअघि वैशाख ३१ गते र अहिले फेरि जेठ ३१ गते चुनावको घोषणा गरेको छ । सरकार पक्षमा भएकाहरु मात्र स्थानीय तहको गाउ र नगरपालिकाको संख्या बढाउनमा लागेको देखिन्छ ।

माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादवले मधेशमा स्थानीय तह संख्या बढाउन सरकार आफनो प्रतिबद्धताबाट पछि नहटेको जनाएका छन् । संविधान संशोध तत्कालिन प्रतिपक्षी एमालेको अनुरोधमा तीन दिनको लागि संविधान संशोधन प्रकृया स्थगित गर्नुस्, हामीले पनि सहयोग गर्छौ भन्ने आश्वासन पाएपछि मात्र हामीहरुले तत्कालिन निर्णय फिर्ता लिएको उनको भनाई छ ।
सरकारले स्थानीय तहको संख्या वृद्धि र पुनरावलोकनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत प्रदेश नं. २ र ५ का ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिएको निर्णयप्रति नेपाली काँग्रेसका जिल्ला सभापति श्री महेन्द्र कुमार रायले आपत्ती जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्