गार्हस्थ्य उत्पादनमा रियल स्टेटको ९ प्रतिशतभन्दा बढी योगदान



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमारियल स्टेट तथा व्यावसायिक सेवा क्षेत्रले ९ दशमलब ९ प्रतिशत योगदान दिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यस क्षेत्र अन्तर्गत कुल मूल्य अभिवृद्धि बृद्धिदर गत आर्थिक वर्ष २०७२⁄७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३⁄७४ मा ५ दशमलब २७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। शहरी क्षेत्रमा घरजग्गाको कारोबारमा आएको बढोत्तरी तथा व्यावसायिक कारोबारमा आएको सामान्य वृद्धिका कारण यस क्षेत्रको बृद्धिदर सकारात्मक हुन पुगेको विभागले जनाएको छ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट क्षेत्रले १ दशमलब ९८ प्रतिशत योगदान दिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागका अनुसार होटल तथा रेष्टुरेन्ट क्षेत्रको कुल मूल्य अभिवृद्धि आर्थिक वर्ष २०७२⁄७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३⁄७४ मा ७ दशमलब शूनय ९ प्रतिशतले वृद्धि हुने अनुमान छ। पर्यटकको आगमन संख्यामा उल्लेख्य वृद्धि हुनु, आन्तरिक पर्यटन वर्ष अभियानले आन्तरिक पर्यटनको प्रवद्र्धन हुनु, ऊर्जा समस्या समाधान भई होटल तथा रेष्टुरेन्टलाई आवश्यक ऊर्जा उपलब्ध हुनु जस्ता कारणले गत आर्थिक वर्षमा संकुचित भएको यस क्षेत्रले चालू आर्थिक वर्षमा भने प्रगति गरेको विभागको ठहर छ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी अंश विगतमा जस्तै कृषि क्षेत्रको रहेको छ। गत आर्थिक वर्ष २०७२⁄७३ कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको ३१ दशमलब १ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा घटेर २८ दशमलब ९ प्रशिशत हुन पुगेको अनुमान गरिएको छ।

१५ वटा औद्योगिक क्षेत्रमध्ये गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनको अंश बढ्नेमा रियल स्टेट तथा व्यावसायिक सेवा, यातायात, सञ्चार तथा भण्डारण, निर्माण, शिक्षा, वित्तीय मध्यस्थता, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, स्वास्थ्य, विद्युत्, ग्यास र पानी, खानी तथा उत्खनन् गरी १० वटा र घट्नेमा कृषि तथा वन, मत्स्य, उद्योग, थोक तथा खुद्रा व्यापार, होटल गरी पाँचवटा रहेका छन्। चालू आवमा कुल गार्हस्थ उत्पादन वृद्धिदर ६ दशमलब ९४ प्रतिशत, प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ८५३ युएस डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्