कुहिएको चामल व्यवस्थापन गर्न ५ वर्ष



हेमन्त जोशी, काठमाडौं

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मानव उपयोगका लागि प्रयोग गर्न नमिल्ने भन्दै गुणस्तर छुट्याइदिएको खाद्य संस्थानको ३० किलोग्राम क्षमताका १९ हजार २ सय २८ बोरा चामल गोदामै थन्किएको पाँच वर्षपछि संस्थानले व्यवस्थापनको काम अघि बढाएको छ।

आयातका क्रममा चामलका बोरा भिजेको र डल्ला परेको र चामल कुहिएको अवस्थामा नेपाल भित्रिएपछि सरकारले जापानलाई अनुदानमार्फतको चामल बिग्रिएको जानकारी गराएको थियो। जापान सरकारले बीमामार्फत् सोही परिमाण बराबर थप चामल उपलब्ध गराई सकेको छ। तर पहिलो चरणमा आयातका क्रममा बिग्रिएर मानव प्रयोजनका लागि अनुपयुक्त ठहरिएको चामल भने हालसम्म पनि व्यवस्थापन हुन नसकेको हो।

बीमा दाबी गरेपछि जापान सरकारले २ वर्ष अगाडि सोही परिमाण बराबरको चामल भने खाद्य संस्थानलाई उपलब्ध गराइसकेको छ। अहिले निकै न्यून मुल्य राखेर लिलाम बिक्री गर्न लागिएको उक्त परिमाणको चामल करिब पाँच वर्ष अगाडि जापानले खाद्यान्न सहयोगमार्फत् उपलब्ध गराएको थियो।

बिग्रिएको चामल व्यवस्थापनका लागि खाद्य सस्थानले कमिटी गठन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा गुणस्तर परीक्षण गरी प्रतिवेदनसमेत पेस गरेको थियो। उक्त अध्ययन प्रतिवेदन अनुसार मानवीय प्रयोजनका लागि प्रयोग गर्न नमिल्ने पाइएको थियो। अहिले चामलको गुणस्तर पुनः जाँच गरेपछि मानव उपभोगका लागि बिक्री वितरण गर्ने नभई पशुपन्छीको दानाको रूपमा प्रयोग गर्न मिल्ने हुनाले टेन्डर आह्वानमार्फत् व्यवस्थापन गर्न लागिएको नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताउनुभयो। नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो–‘हामीले बिगे्रको अवस्थामा नै चामल पाएका हौं। त्यसपछि बीमा दाबी गर्नुपर्ने भएकाले हामीले त्यसलाई चलाउन मिल्ने अवस्था थिएन तर अहिले हामी यस कामलाई उच्च प्राथमिकतामा राखेर लिलाम बिक्रीमार्फत् व्यवस्थापन गर्न लागि परेका छँैं।’

जापानले नेपाललाई अनुदानमार्फत् दिएको ५ हजार ७ सय ६८ क्विन्टल चामल अहिले पनि खाद्य संस्थानका विभिन्न गोदाममा कुहिएकै अवस्थामा थन्किएर रहेको छ। संस्थानको शाखा कार्यालय नेपालगन्जमा ३ सय ४२ मेट्रिक टन शाखा कार्यालय वीरगन्जमा १ सय ५१ दशमलब ५ मेट्रिक टन र शाखा कार्यालय सुर्खेतमा ७३ दशमलब ६३ मेट्रिक टन, अञ्चल कार्यालय काठमाडौंमा ५८ मेट्रिक टन गरी कुल ६ सय २५ मेट्रिक टन चामल रहेको छ। अहिले खाद्य संस्थानले लिलाम बिक्रीका लागि प्रतिबोरा ४ सय देखि ७ सय रुपियाँसम्म तोकेर कुल ८२ लाख २७ हजार ६ सय रुपियाँ बराबरको मूल्य निर्धारण गरेको छ।

दैनिक काम कारबाहीमा ढिलासुस्ती र जवाफदेहीता नभएको भन्ने आरोप खेप्दै आएका सरकारी निकायको कामप्रति यस विषयले थप प्रश्न खडा गरेकोछ। तर खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले आफू संस्थानको कामप्रति सन्तुष्ट नै रहेको बताउनुभयो। उहाँले भन्नुभयो–‘ बिग्रिएको र मानव प्रयोजनका लागि अनुपयुक्त रहेको जापानी चामल व्यवस्थापनका विषयमा केही ढिलो भएको पक्कै हो तर खाद्य संस्थान र मातहतका कार्यालयमा कर्मचारीले प्रभावकारी ढंगले काम गरेरन र कामप्रति तदारुकता देखाएनन् भन्ने कुरामा म विश्वास गर्दिन।’

प्रतिक्रिया दिनुहोस्