पुणेमा बैंगलोरको केही चलेन



महेन्द्रसिहं धोनी र विराट कोहली एक अर्कालाई हेर्दै

नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) १० अन्तर्गत शनिबार भएको खेलमा राइजिङ पुणे जायन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६१ रनले हराएको छ।

पुणेको मैदानमा बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर घरेलु टोली पुणेलाई ब्याटिङ गर्न निमन्त्रणा दिएका थिए। उनको यो निर्णय घातक बनेको थियो। पुणेले निर्धारित २० ओभरमा मात्र तीन विकेटको नोक्सानीमा १ सय ५७ रन बनायो। तर बैंगलोर भने जवाफमा २० ओभर खेले पनि ९ विकेटको क्षतिमा ९६ रनमै समेटिएको थियो।

कप्तान विराटले कप्तानी इनिङ खेलेका थिए। अर्को इन्डमा उनलाई सहयोग नपाउँदा बैंगलोरले फेरि हारको सामना गर्नुपरेको थियो। विराटलाई छाडेर कोही ब्याटसम्यान दोहोरो अंकमा पुगेका थिएनन्। ओपनर ब्याटसम्यान ट्रेभिस हेड मात्र २ रन जोडेर जयदेव उनदकटको बलमा बोल्ड भए। एबी डिभिलियर्सको ब्याट पनि चलेन। उनले तीन रन बनाएर फर्गुसनलाई विकेट दिएर आउट भएका थिए। लयमा रहेका केदार जाधव ८ रनमा रनआउट भए भने सचिन बेबी वासिंगटन सुन्दरको बलमा २ रनमै आउट भएका थिए।

यसै गरी स्टुअर्ट बीनी १ रन, पवन नेगी ३ रन, एडम मिल्ने ६ रन बनाएर पवेलियन फर्केका थिए। एक इन्डमा जमेका विराटले ४८ बलमा ५५ रन बनाएका थिए। उनी क्रिस्टियनको बलमा मयंक अग्रवालद्वारा क्याच आउट भएका थिए। सेमुल बद्री २ रन र श्रीनाथ अरविन्द ८ रनमा आउट हुँदा युजबेन्द्र चहल ४ रनमा नटआउट रहेका थिए। पुणेका ताहिर इमरानले तीन विकेट लिएका थिए।
यसअघि आजिन्क्य रहाणे ६ रन बनाएर बद्रीको बलमा आउट भए पनि अन्य ब्याटसम्यानले सानदार ब्याटिङ गरेका थिए। कप्तान स्टिभ स्मिथले ३२ बलमा ४५ रन जोडेर टोलीलाई सर्वाधिक योगदान दिए। त्यस्तै राहुल त्रिपाठीले ३७ रन बनाएका थिए। मनोज तिवारी ४४ रन र महेन्द्र सिंह धोनी २१ रनमा नटआउट रहेका थिए।

प्रतिक्रिया दिनुहोस्