विश्वकै सबैभन्दा ठूलो परमाणु क्षेप्यास्त्र प्रदर्शन



सेन्ट पिटर्सवर्ग, (एजेन्सी)
रुसको सेन्ट पिटर्सवर्गमा गत बिहीबार आयोजित एक रिहर्सल परेडले विश्वको ध्यान तानेको छ। मे ९ मा रुसमा मनाइने विजय दिवस ‘भिक्ट्री डे’ को तयारीका लागि भइरहेको उक्त रिहर्सल परेडमा ट्यांकसँगै परमाणु हतियार पनि देखिइएको थियो। त्यसको तस्वीरहरू रुसी सञ्चारमाध्यमहरूले हालैमात्र जारी गरेको हो।

उक्त परमाणु बम विश्वकै सबैभन्दा ठूलो बताइएको छ। रुसको उक्त परमाणु क्षेप्यास्त्रसँग अमेरिका र २८ देशका संगठन नेटो पनि तर्सेर यसलाई सेतान नाम दिएको छ। तर, रुसमा यसको नाम आरएस २८ सार्मट रहेको छ। यसको विध्वंशक क्षमता यति धेरै छ कि, हिरोसिमामा खसालिएको परमाणु बम यसको अगाडि खेलौना मात्र भएको सञ्चारमाध्यमले जनाएका छन्। ७ किलोमिटर मिटरको गतिमा उडान भर्दै निसाना साँध्न सक्ने यो परमाणु क्षेप्यास्त्रले १० हजार किलोमिटर दूरीसम्म प्रहार गर्न सक्छ। यसको गतिलाई अमेरिकाको सबैभन्दा आधुनिक क्षेप्यास्त्र प्रतिरोध प्रणालीले पनि पछ्याउन सक्दैन।

सामान्यतया हरेक वर्ष हुने यस प्रकारको रिहर्सल सामान्य हुने गर्छ तर यो पटक भने स्थिति भिन्न भएको छ। पश्चिमी सञ्चारमाध्यमले यसलाई सीधै रुसको शक्ति प्रदर्शनका रूपमा चित्रण गरेको छ।

पछिल्ला केही वर्षदेखि रुस र अमेरिका तथा पश्चिमाबीच तनावको स्थिति रहेको छ। हालै मात्र अमेरिकाले सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणले रुस र अमेरिकाबीचको तनाव अझ उत्कर्षमा पुर्याएको छ।
यसैबीच अमेरिकाले पनि बिहीबार नै अमेरिकी एयरफोर्सले लामो दूरीको एक शक्तिशाली क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। यो परमाणु हतियार बोक्न सक्षम छ।

सन् १९४५ मा रुसको सेना समक्ष जर्मनीको नाजी फौजले घुँडा टेकेको थियो। त्यसपछि नै युरोपको विध्वंश मानिएको दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो। सोही विजयको स्मरणमा हरेक वर्ष मे ९ मा मस्कोको रेड स्क्वायरमा विजय दिवस मनाउने गर्दै आइरहेको छ। यसमा रुसी सेनाले विश्वलाई आफ्नो शक्ति देखाउँदै आइरहेको छ। ‘भिक्ट्री डे’ रुसको महत्त्वपूर्ण कार्यक्रममध्येको एक हो। यसले आम नागरिकमा देशप्रेमको भावना जगाउने गरेको छ। यो दिन दोस्रो विश्वयुद्धमा मारिएका करिब २ करोड रुसीप्रति श्रद्धाञ्जली दिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्