उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल आफ्नो प्रमुख सहयोगी छिमेकीको अपमानः ट्रम्प



सोल, (एजेन्सी)
उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्। तर, उक्त परीक्षण सफल हुन नसकेको दक्षिण कोरियाको सेनाले योनहाप समाचार एजेन्सीलाई बताएको छ।

क्षेप्यास्त्र प्रक्षेपण गरेको केही समयपछि नै विस्फोट भएको दक्षिण कोरियाली सेनाले जनाएको छ। त्यसै गरी रोयटर्स समाचार एजेन्सीले अमेरिकी सरकारको एक स्रोतलाई उद्धृत गर्दै परीक्षण असफल भएको उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमा उत्तर कोरियाको उक्त क्षेप्यास्त्र परीक्षणले उसकै प्रमुख सहयोगी चीनप्रति असम्मान प्रकट भएको उल्लेख गरेको छ।

दक्षिण कोरियाका सेना प्रमुखले उक्त क्षेप्यास्त्र राजधानी प्योङयाङको उत्तरस्थित प्योनगान प्रान्तको एक परीक्षणस्थलबाट शनिबार प्रक्षेपण गरिएको जानकारी दिएका छन्। क्षेप्यास्त्रका बारेमा अझै थप जानकारी प्राप्त हुन सकेको छैन।

अहिलेसम्म उत्तर कोरियाले यस विषयमा कुनै जानकारी दिएको छैन। अमेरिकी विदेशमन्त्रीले विश्वका बाँकी देशसँग उत्तर कोरियामाथि उसको परमाणु कार्यक्रम रोक्नका लागि दबाब दिन आह्वान गरेको केही घण्टापछि नै प्योङयाङले उक्त परीक्षण गरेको हो। दक्षिण कोरिया र उत्तर कोरियाले हालैका दिनमा ठूल्ठूला सैन्य अभ्यास गरेपछि कोरियाली प्रायद्विपमा तनाब बढेको हो।

करिब एक हप्ता अगाडि पनि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको थियो। अमेरिकी सेनाका अनुसार उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण गरेको केही सेकेण्डमै विस्फोट भएको थियो। बुधबार अमेरिकाले दक्षिण कोरियामा अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापित गरेको छ। द टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स सिस्टम कम र मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमै नष्ट गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्