नवजात शिशुको भ्रुण फेला



?

सीताराम चौधरी, चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका–५, सहजटोलमा शनिबार बिहान घरनजिकैको खेतबारीमा नवजात शिशुको भ्रुण देखेपछि चारैतर्फ हल्ला फैलियो। शिशुको शारीरिक संरचनाको विकास भए पनि अझै पूर्णता पाएको थिएन। भ्रुण हेर्दा करिब ४⁄५ महिनाको शिशुको जस्तो देखिन्थ्यो। भ्रुणमा पुरुष जानेन्द्रिय टाँसिएको अवस्थामा देखिएकाले बालक रहेको प्रहरीले बताएको छ।

खेतमा बेवारिसे नवजात शिशुको भ्रुण फेला परेको चारैतर्फ हल्ला भएपछि छिमेकीहरू भ्रुण हेर्न जम्मा भए। तर भ्रुण भेटिएको ठाउँ नजिकैको घरमा डेरा गरी बस्ने एक महिलालाई भने यससम्बन्धी कुनै चासो भएको देखिएन। प्रहरी र स्थानीयलाई समेत शंका लाग्यो। सोधपुछका क्रममा आखिर उनै महिलाले आफ्नो भ्रुण भएको स्वीकार गरिन्। दुई जीउ भएकी उमेर हेर्दा झन्डै ४० वर्षे जस्तो देखिने शारदा (नाम परिवर्तन) लाई राति एक्कासि व्यथाले च्यापेको बताइन्। ‘रातको समयमा घरबाहिर निस्कँदा भ्रुण आफैं झर्यो’ –शारदाले प्रहरी समक्ष भनिन्। उमेर नपुग्दै भ्रुण खसेकाले एकैछिनमा शिशुको मृत्यु भएको उनले बताइन्। आफूलाई निकै पीडा भएकाले खाल्डो खनी गाड्न समेत नसकेको उनले आफ्नो व्यथा सुनाइन्। तर छरछिमेकले महिलाले मानसिक सन्तुलन गुमाएर भ्रुण फालेको हुन सक्ने शंका गर्दै आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन्।

एक दिनअघि महिलाका श्रीमान् कामको सिलसिलामा भारत गएको उनले बताइन्। कोठामा ४ छोराछोरी र आफू मात्र बस्दै आएको उनले बताएकी छन्। आफ्नै नन्दको घरमा गत ३ महिनादेखि डेरा गरी उनीहरू सपरिवार बस्दै आएका छन्।

यसैबीच कपिलवस्तुमा घरको छतमा सुतेकी एक किशोरीको खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका ६, सन्डी बस्ने रामसेवक पासीकी १९ वर्षीया छोरी अनिता पासी रहेकी छन्।

रातिको खाना खाएर घरको छतमा सुत्न गएकी किशोरी मध्यराति छतबाट एक्कासि खसेको पारिवारिक स्रोतले बताएको छ। छतबाट खसेर गम्भीर घाइते भएकी किशोरीलाई उपचारका लागि चन्द्रौटातर्फ ल्याउँदै गर्दा राति नै मृत्यु भएको मृतक किशोरीका बुबा रामसेवा पासीले बताउनुभयो। किशोरीको मृत्युको खबर परिवारले बिहान मात्र प्रहरीलाई गरेका थिए। खबर पाएलगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराई नेतृत्वको टोली घटनास्थल पुगी मुचुल्का उठाएको थियो। मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज पठाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्