कांग्रेसले फकायो, एमाले मानेन



पुष्कर बुढाथोकी, भक्तपुर
नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेटवार्ता भएको छ। बिहान सवा ११ बजेदेखि एक घण्टाभन्दा बढी समय भएको भेटमा संविधान संशोधनमा सहमति जुटाउनेबारे छलफल भएको थियो।

छलफलका लागि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो।

भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै कांग्रेस नेता कृष्ण सिटौलाले समसामयिक विषयमा दुई दलका नेताहरूबीच छलफल भएको बताउनुभयो।
बैठकमा कांग्रेस नेताहरूले मधेस केन्द्रित दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहमति गर्न एमालेलाई प्रस्ताव गर्नुभएको भेटमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले बताउनुभयो।
तर एमालले अध्यक्ष ओलीले भने संविधान संशोधन प्रतिगामी र जनबिरोधी भएको भन्दै कुनै हालतमा पास हुन नदिने बताउनुभएको महासचिव पोखरेलले जानकारी दिनुभयो। वार्तामा कांग्रेस नेताहरूले सहयोगको अपेक्षा गरे पनि अहिलेकै अवस्थामा एमालेले सहयोग गर्न सक्ने अवस्था नरहेको पोखरेलले बताउनुभयो।

संशोधन पास हुन नदिने एमाले अडान कायमै रहँदा गतिरोध अन्त्यका लागि प्रमुख दुई दलका शीर्ष नेताहरूबीच सहमति जुटाउने प्रयास स्वरूप भेटवार्ता भए पनि प्रयास असफल भएको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्