उपप्रमुखमा भिड्दै महिला



सन्तोष अधिकारी, गोरखा
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको १० तहको उपप्रमुखमा महिला मात्र उम्मेदवार रहेका छन्। विभिन्न राजनीतिक दलले नै महिलालाई प्रमुख पदका लागि अवसर प्रदान नगरेको गुनासो महिला नेतृले गर्ने गरेका छन्। प्रायः सबै राजनीतिक दलले प्रमुख पदमा पुरुषलाई नै टुंगो लगाएका छन्। जिल्लाको चुमनुब्री गाउँपालिकाको प्रमुखमा मात्र महिला लड्न लागेकी हुन्। एमालेले सूर्यकुमारी गुरुङलाई प्रमुखमा चुनाव लडाउने भएको हो।

धार्चे गाउँपालिकाको उपप्रमुखमा कांग्रेस र माओवादी केन्द्रबाट पनि महिला नै चुनाव लड्न लागेका हुन्। उपपमुखमा कांग्रेसकी फूलमाया गुरुङ, एमालेकी सुस्मिता घले र माओवादी केन्द्रकी आशा गुरुङ चुनावी मैदानमा उत्रिएका छन्। भीमसेन गाउँपालिकाको उपप्रमुखमा एमालेकी सविता अर्याल र माओवादी केन्द्रकी लीला श्रेष्ठ चुनाव लड्दै छन्। चुमनुब्रीमा उपप्रमुखमा माओवादी केन्द्रकी कुमारी गुरुङले उम्मेदवारी दिएकी छन्। कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छैन तर, महिला नै उम्मेदवार हुने पक्का भएको कांग्रेसले जनाएको छ।

अजिरकोट गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकी चन्द्रमाया गुरुङ र माओवादी केन्द्रकी अनिता भुजेल चुनाव लड्दै छन्। शहीद लखन गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकी शर्मिला श्रेष्ठ, एमालेकी लुना थापा र माओवादी केन्द्रकी इन्दिरा तिवारी चुनावी मैदानमा छन्। आरूघाट गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकी कल्पना नेपाली र माओवादी केन्द्रकी अमता लामाबीच प्रतिस्पर्धा हुने भएको छ। सुलीकोट गाउँपालिकाको उप्रमुखमा कांग्रेसबाट जनककुमारी कोइराला र माओवादीकी सनमाया गुरुङबीच चुनाव हुने भएको छ।

गण्डकी गाउँपालिकाको उप्रमुखमा कांग्रेसकी ललिता अधिकारी र माओवादी केन्द्रकी पूर्णा थापाबीच प्रतिस्पर्धा हुँदै छ। पानपामा उपप्रमुख पदका लागि माओवादी केन्द्रकी पम्फा बसेल उम्मेदवार छन्। कांगे्रसले टुंगो लगाएको छैन तर महिला नै उपप्रमुखको उम्मेदवार हुने कांग्रेसले बतायो। जिल्लाको सिरान्चोक गाउँपालिकामा कांग्रेसकी रीता देवकोटा उपप्रमुखको उम्मेदवार भएकी छन्। त्यस्तै नेपाली कांग्रेसले गोरखा नगरपालिकामा विना श्रेष्ठ र सपना पुनमध्ये एकलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ। नेकपा एमालेले भने उपप्रमुखमा सम्झना देवकोटाको नाम टुंगो लगाइसकेको स्रोतले जनायो। माओवादी केन्द्रले पनि कमला नहर्कीलाई उपमेयरको उम्मेदवार बनाउने तयारी गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्