राप्रपाले छान्यो उम्मेदवार



नेपाल समाचारपत्र
काभ्रे
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा पहिलोपटक संसद्को चौथो दल राप्रपा नेपालले १३ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरू चयन गरी सार्वजनिक गरेको छ। राप्रपाले केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेकपा एमालेसँग नीतिगत रूपमै तालमेल गर्ने निर्णय गरी वार्ता समितिसमेत बनाएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

राप्रपाका जिल्ला अध्यक्ष टुल्कु लामाको संयोजकत्वमा उदसिं मुस्याजु, रेशम लामा, विजयकुमार शाह र गोपाल सेढाईं रहेको वार्ता समिति गठन गरेको अध्यक्ष लामाले जानकारी दिए। वार्ता समितिले एमालेका अध्यक्ष टोकबहादुर वाइबासँग अनौपचारिक वार्ता गरेको भए पनि औपचारिक वार्ता हुन नसकेको बताएका छन्। एमालेको बैठकले पनि वार्ता समिति बनाएको जानकारी दिँदै लामाले माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि तालमेलका लागि छलफल भए पनि पहिलो प्राथमिकता नेकपा एमालेसँग रहेको उनले बताए।

पत्रकार सम्मेलनमा लामाले छनोट भएका वडा अध्यक्षहरूले नगर र गाउँपालिकामा सदस्यहरू चयन गर्ने बताएका छन्। राप्रपाले बनेपा नगरपालिकामा अनन्तप्रसाद दाहाल र उपप्रमुखमा रूपा विष्टलाई छनोट गरेको छ। त्यस्तै वडा अध्यक्षहरूमा १ मा कष्णगोपाल पाण्डे, २ मा नारायण घिमिरे, ३ मा भवनाथ दाहाल, ४ मा वीरलाल श्रेष्ठ, ५ मा सम्झना श्रेष्ठ, ६ मा विष्णुप्रसाद तिमल्सिना, ७ मा मोहन प्रधान, ८ मा दुर्गा मानन्धर, ९ मा सीता प्रजापति, १० मा किरण श्रेष्ठ, ११ मा सानुबाबु थापा, १२ मा इन्द्रबहादुर तामाङ, १३ मा सानुबाबु दुलाल र वडा नम्बर १४ मा दीपक पण्डित रहेका छन्।

त्यस्तै पनौती नगरपालिकामा आरजुकुमार केसी प्रमुख र अप्सरा विकलाई उपप्रमुखमा उम्मेदवार छनोट गरेको छ। पाँचखालमा विष्णुप्रसाद गौतम र उपप्रमुखमा सुनिता दनुवार रहेका छन्। तेमाल गाउँपालिकामा केशव तामाङ अध्यक्ष, भुम्लु गाउँपालिकामा नारायण उप्रेती अध्यक्ष, बेथाञ्चोक गाउँपालिकामा कमलबहादुर लामा, खानीखोलामा चन्द्रबहादुर जिम्बा अध्यक्ष र शारदा तिमल्सिना उपाध्यक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्