विस्फोटक पदार्थ नपाएर हैरान



सुरेश तामाङ, ललितपुर
नेपाली सेनाले विस्फोटक पदार्थ नदिँदा कान्तिलोकपथको काम प्रभावित बनेको छ। राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक मार्गको रूपमा लिइने कान्तिलोकपथको काम प्रभावित बनेको भएको हो।

‘हामीले सेनासँग पटक–पटक ताकेता गरे पनि विस्फोटक पदार्थ पाउन सकेका छैनौं’, कान्तिलोकपथ सडक विस्तार योजनाका योजना प्रमुख देवेन्द्र शाहले भन्नुभयो– ‘हामीले ५ महिनाअगाडि नै सेनासँग विस्फोटक पदार्थ मागेका थियौं। जवाफमा स्टक नभएको भनाइ आउँछ।’

करिब ९० प्रतिशत सडक चौडा गर्ने काम सम्पन्न भए पनि बाँकी भाग चौडा गर्न विस्फोटक पदार्थ नभई सम्भव नहुने उहाँको भनाइ छ। ‘हामीले लगभग सडक चौडा गर्ने काम सक्काइसक्यौं। तर, केही भागमा भने विस्फोटक पदार्थ नै चाहिन्छ।’ –योजना प्रमुख शाहले बताउनुभयो।

लोकपथको सडक खण्डअन्तर्गत पर्ने रानीबास, काल्चे, मौरीभिरलगायतमा चौडा गर्न विस्फोटक पदार्थको आवश्यकता रहेको आयोजनाले जनाएको छ। त्यस्तै, भदौबाट यस सडक खण्डको कालो पत्र गर्नका लागि ९ ठेकेदार कम्पनीसँग बहुवर्षीय ठेक्का प्रणालीअनुसार सम्झौता गरी काम थालिसकेको योजना प्रमुख केसीले जानकारी दिनुभयो।

आयोजनाका अनुसार सडकको नाली बनाउने, चौडा बनाउने र कालोपत्रे गर्ने गरी २२ वटा एक्जाभेटर प्रयोग गरिएको छ। आयोजनाले सडकको प्राविधिक अनुगमन पनि भइरहेको जनायो।

२०७५ साल असार मसान्तमा लोकपथको योजना सक्ने अन्तिम समय भए पनि हालसम्म भने ४० प्रतिशत मात्रै काम सकिएको आयोजनाको दाबी छ।

ट्रइक खन्दै गरेको दु्रत मार्ग र अन्य राजमार्गहरूको वैकल्पिक मार्गका रूपमा लिँदै आएको छ। त्यससँगै २०१३ सालमा शुरू भएर सुस्ताएको सडक विस्तारको कामलाई राज्यले पनि पछिल्लो आर्थिक वर्षदेखि प्राथमिकतामा राखेको छ। त्यसबेला राजा महेन्द्रले शिलान्यास गरेपछि यो राजपथ निर्माण शुरू गरिएको थियो।

शिलान्यास भएको ६० वर्ष बितिसक्दा भने सडकको कामले तीव्रता पाएर बन्ला कि भन्ने यस भेगका आम मानिसलाई आशा जागेको छ। योजनालाई सरकारले पर्याप्त बजेटको समेत व्यवस्था गरिदिएको छ। यस आर्थिक वर्षमा करिब ६० करोड योजनालाई छुटइइसकिएको छ भने हालसम्म योजनाले ८६ करोड खर्चसमेत गरिसकेको छ। लोकपथ विस्तार भई सञ्चालनमा आउन योजनाले ३ अर्ब ३७ करोड बजेट अनुमान गरेको छ।

लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तिनपाने भञ्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभञ्ज्याङ, बुद्धचोकसम्म ९० किमीको यात्रा ३ घण्टामा पुग्ने योजनाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्