सुरक्षाकर्मीबीच समन्वय अभाव बारामा तस्करी मौलायो



?

गोकुल घोरसाइने, बारा
जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिका धर्मनगरमा तस्करको आक्रमण खेपेको प्रहरीले एक साता बित्न नपाउँदै शुक्रबार दिउँसो पनि जिल्लाको कचोर्वामा त्यस्तै प्रकृतिको आक्रमण बेहोर्नुपर्यो। चोरी पैठारीबाट घरमा लुकाएर राखेको कपडा नियन्त्रण गर्न पुगेको टोलीमाथि स्थानीय बासिन्दाको एउटा समूहले आक्रमण गर्दा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीसहित २ प्रहरी समान्य घाइने भए। सिम्रौनगढ नपा–९ का राजेश साह, पशुपति साह जैसवाल र विश्वनाथ जैसवालको घरमा लुकाएर राखिएको अवैध लत्ताकपडा नियन्त्रणमा लिएर फर्कने क्रममा ठूलो संख्यामा जम्मा भएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। स्थिति काबुबाहिर जान नदिन प्रहरीले ३ राउन्ड हवाई फायर गरी ४० वर्षीय लक्ष्मीप्रसाद यादवलाई नियन्त्रणमा राखेको छ।

जिल्लाका विभिन्न नाकाबाट अवैध समान भित्त्याउने क्रम वृद्धिसँगै केही समय यता प्रहरी र तस्कर समूहबीच दोहोरो भिडन्तका घटना पनि बढेका छन्। स्थानीय तह निर्वाचनको मिति घोषणापछि प्रहरीको ध्यान अन्यत्र गएको मौका पारेर जिल्लामा तस्कर समूह सक्रिय बनेका हुन्। जिल्लाको कचोर्वा, सिम्रौनगढ, कवहीगोठ, मटिअर्वा र विश्रामपुरलगायत नाकाबाट लत्ताकपडा, खाद्यान्न र कृषि कार्यमा प्रयोग हुने सामग्रीको तस्करी हँुदै आएको छ। तस्करहरूले भन्सार छलेर भारतबाट साइकलमा ओसारेको सामान गोदाममा राख्ने र देशका विभिन्न स्थानमा पुर्याएर बिक्री गर्दै आएका छन्। स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा प्रबन्धमा प्रहरीले ध्यान केन्द्रित गरेको मौका छोपेर जिल्लामा तस्करी मौलाएको र नियन्त्रणका लागि प्रहरी पनि उत्तिकै सक्रिय बनेकाले झडपका घटना भएको प्रहरी नायब उपरीक्षक रेग्मीको भनाइ छ। ‘घरेलु हतियार बोकाएर हुलका हुल ल्याउँछन्’, उपरीक्षक रेग्मीले भने– ‘ज्यान हत्केलामा राखेर काम गर्नुपरेको छ।’ यसअघि धर्मनगर झडपमा तस्करको आक्रमणमा ३ प्रहरी घाइते र एक थान राइफलसमेत खोसिएको थियो। झडपमा गम्भीर घाइते प्रहरी हवल्दार शेष महसुल हकको काठमाडौंमा उपचार भइरहको छ भने खोजतलास क्रममा प्रहरीले घटनामा लुटिएको सटगन राइफल भोलिपल्ट बिहान गाउँ नजिकैको चिम्नी भट्टाको इँटाको थाकमा लुकाएर राखेको अवस्थामा फेला पारेको थियो।

धर्मनगरबाट पनि प्रहरीले नेपाल भित्त्याउँदै गरेको अवस्थामा १० लाख रुपियाँभन्दा बढी मूल्यको अवैध सामग्री नियन्त्रणमा लिएको थियो।
प्रहरी र स्थानीय प्रशासनबीच आवश्यक समन्वय अभावमा जिल्लामा तस्करी मौलाएको र नियन्त्रण कार्य चुनौतीपूर्ण बनेको सर्वसाधारणको भनाइ छ। ‘एकथरी प्रहरी नै रकम असुलेर तस्करलाई लाइन दिन्छन्’, एक स्थानीयले भने– ‘रकम नपाएको झोकमा गरेको कारबाहीले मात्र तस्करी नियन्त्रणमा आउँदैन।’ तस्करी नियन्त्रणका लागि भन्दै जिल्ला प्रहरीको टाइगर टोली, घुमुवा र नाकास्थित प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टँेली सक्रिय छ। टोलीले तस्करीको मुख्य नाका क्षेत्रामा मोटरसाइकलबाट नियमिमत गस्ती गर्दैै आएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले पनि छुट्टै संयन्त्रबाट नियन्त्रण प्रयास गर्दै आएको बताइएको छ। नियन्त्रणमा खटाइएका भनिएका प्रहरी टोलीका केहीले तस्करहरूसँग रकम असुलेर लाइन दिने र सुरक्षाकर्मीबीच आपसी समन्वय अभावमा तस्करी मौलाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्