“काठमाडौंकै जनता वित्तीय पहुँचभन्दा बाहिर”



नेपाल समाचारपत्र,काठमाडौं
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले ६० प्रतिशत जनसंख्या अझै वित्तीय पहुँचबाट बाहिर गएको भन्दै वित्तीय पहुँच नपुगेको जनसंख्या समक्ष पहुँच पुग्नेगरी काम गर्न गभर्नर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुभएको छ।
शुक्रबारदेखि शुरू भएको ‘बैकिङ एक्स्पो’ उद्घाटन गर्दै गभर्नर डा. नेपालले उक्त निर्देशन दिनु भएको हो।

गभर्नर नेपालका अनुसार काठमाडौंभित्र पनि सबै क्षेत्रमा वित्तीय साक्षरता पुग्न सकेको छैन।

राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित साइकल र्यालीका क्रममा काठमाडौंकै झोरमा समेत वित्तीय साक्षरता नभएको पाइएको उहाँको भनाइ थियो। झोरमा कयौं व्यक्ति विदेशमा रोगारीका निम्ति छन् तर त्यो पैसा बैंकमा जम्मा गर्ने प्रचलन नपाएको गभर्नर नेपालले बताउनुभयो।

त्यस अवसरमा उहाँले बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियस्तरमा भएका बैंकिङ प्रणालीको विकासलाई मध्ययनजर गरी सोही अनुसार अभ्यास गर्न पनि सुझाव दिनु भयो छ। उहाँले वित्तीय संस्थाले हरेक दिन र क्षणलाई उपयोग गर्दै नयाँ प्रोडक्ट किन्ने र बेच्ने गर्नुपर्ने भन्दै जनतामा वित्तीय साक्षरता र चेतना जागृत गरेर औपचारिक च्यानलमार्फत् वित्तीय कारोबार गर्न बैंकहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो। उहाँले बैंकिङ एक्स्पोले नेपालमै उद्यमी बन्ने बाटो खुलाउने धारणा राख्दै एक्स्पोलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले काठमाडौंकै कयांै मानिस अझै पनि बैकिङ पहुँचमा नरहेको उल्लेख गर्दै बैंकमा खाता खोल्ने तर पैसा भने घरमै थन्कयाएर राख्ने अवस्था रहेको उल्लेख गर्दै ऋण लिन मात्र नभई थोरैथोरै रकम बचत गराउने बानी बसाल्नु अहिलेको आवश्यकता भएको बताउनुभयो।

नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बेंकर्स एसोसियसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बेंकर्स एसोसियसनलगायतका संस्थाको सहकार्यमा बैंकिङ एक्स्पो तीन दिनसम्म सञ्चालन हुने छ। एक्स्पोमा बैकिङ, लघुवित्त, बीमा, शेयर बजारसँग सम्बन्धित स्टल रहेका छन्। राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा ‘क’ वर्गका २८, ‘ख’ वर्गका ५७, ‘ग’ वर्गका ३८ र ‘घ’ वर्गका ४८ गरी बैंक तथा वित्तीय संस्थाहरूको कुल संख्या १७१ रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ४७५९ पुगेको तथा मर्जर तथा प्राप्ति विनियमावली लागू भएदेखि चैत मसान्तसम्म १३६ वटा संस्था एक आपसमा गाभिएर ४४ वटा संस्था बन्न पुगेका छन्। २८ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई एक आपसमा गाभिई ११ वटा कायम रहन सैद्धान्तिक सहमति प्रदान गरिएको छ। १६ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई समस्याग्रस्त घोषणा गरिएकोमा ७ संस्था रिजोलुसनमा गइसकेकाले सो संख्या हाल ९ मा झरेको छ। रिजोलुसनमा गएका ७ मध्ये दुईवटा समस्याग्रस्तबाट मुक्त भई नियमित वित्तीय कारोबार गरिरहेका छन्।

हाल समस्याग्रस्त रूपमा रहेका ९ वटामध्ये ४ वटा संस्थाको शेयर स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेको छ। शेयर स्वामित्व हस्तान्तरणपछि राष्ट्र बैंकले तोकेको मापदण्डहरू पूरा गरेको अवस्थामा यी ४ वटा संस्थाहरू समस्याग्रस्तबाट मुक्त भई नियमितरूपमा कारोबार गर्न सक्ने छन्

प्रतिक्रिया दिनुहोस्