इमेजको लोक कलाकार अञ्जनालाई प्लेटफर्म



कहिल्यै कुनै पनि सांगीतिक प्रतिस्पर्धामा स्पर्धा नगरेकी पाल्पाकी अञ्जना सारु मगरले केही समय पहिले इमेज च्यानलबाट प्रशारण भएको रियालिटी सोे इमेज लोक कलाकार नामक लोकगायन प्रतियोगीताका बारेमा सुनिन्।

उनले त्यसमा आफू पनि भाग लिने विचार गरिन्। इमेज ग्रुपले सञ्चालन गरेको कार्यक्रममा आवेदन दिनका लागि लाजिम्पाटस्थित इमेज च्यानलको कार्यलय पुगिन्।

पाल्पामै एसएलसीसम्मको अध्ययनपछि काठमाडौंमा आएकी उनी ललितकला क्याम्पसको संगीतकी विद्यार्थी पनि थिइन्। पहिलोपटक भाग लिएको लोक कलाकार कार्यक्रममै पहिलो नै भइन् पनि।

इमेज लोक कलाकार रियालिटी शोको विजेताका रूपमा उनको नाम राजधानीस्थित होटल साँग्रिलामा एक कार्यक्रमका बीच घोषणा गरिएको थियो।

४ सयभन्दा बढी प्रतिस्पर्धीहरुबीच चलेको प्रतिस्पर्धामा फाइनल राउन्डमा पुगेका रेश विश्वकर्मा, गीता सेन्चुरी, सुमिन गुरुङ र नरबहादुर राना मगरलाई पछि पार्दै अञ्जनाले शो उपाधि हात पारेकी थिइन्। काठमाडांै पोखरा र धरानमा अडिसन गरी देशभरिका नया प्रतिभाहरुलाई लिएर इमेज च्यानलले उक्त कार्यक्रम सञ्चालन गरेको थियो।

गीत संगीतमा रुचि भएको कारण पनि उनलाई कार्यक्रममा भाग लिने उनको चाहना बढ्यो। ‘पाल्पामा हँुदासम्म मैले कुनै पनि गीतसंगीतसम्बन्धी प्रतियोगीतामा भाग भने लिएकी थिइन। तर मेलापर्वहरुमा कहिलेकाहीँ गीत गाइन्थ्यो। संगीतप्रति रुचि भएपछि म संगीत नै पढ्न भनेर काठमाडौं आएँ। पहिलोपटक लोककलाकारमा भाग लिएर पहिलो नै भए निकै त्यो पल मेरो लागि निकै खुसीको पल थियो,’ उनले सेयर गरिन्।

भाग लिएको कार्यक्रममा जित नै हुन्छ भन्ने केही छैन। तर भाग लिन्छु कहाँसम्म गइन्छ भनेर भाग लिएकी रहिछन् उनले। त्यसो त उनकी फूपूले उनलाई लोक कलाकारका बारेमा सुनेर भाग लिनका लागि भनेकी हुन्। ‘फूपूले रेडियोमा विज्ञापन सुन्नुभएको रहेछ। तिम्रो पनि स्वर राम्रो छ, एक चोटी भाग लिन जाउ न भन्नु भएपछि म गएकी थिएँ।

तर उपाधि नै पाएँ’ अञ्जनाले सुनाइन् ‘कुनै राउन्डमा गएर आउट हुन्छुहोला भन्ने लागेको थियो। तर विजेतामा आफ्नो नाम आएपछि मैले नसोचेको भयो भनेर भगवानलाई सम्झिएँ। लोकलयका विभिन्न गीतहरुमा प्रतिस्पर्धा गराउँदै २६ भागभन्दा बढी एपिसोड पार गरेपछि मात्र विजेता घोषणा गरिएको थियो।

कार्यक्रमको विजेता भएपछि उनले आफ्नो जीवनमा अन्य धेरै अवसरहरु पाइन्। उनले एक लाख रुपियाँसहित ३२ इन्चको एलईडी टिभी, तिर्सना म्युजिकको तर्फबाट अडियो भिडियो, एनटीसीको तर्फबाट फोरजी प्याकलगायतका विभिन्न उपहार प्राप्त गरेकी थिइन्। ‘यस कार्यक्रमको विजेता भएपछि मैले गीतसंगीतको क्षेत्रमा अगाडि बढ्नका लागि एउटा प्लेटफर्म पाएको छु।

विभिन्न गीतहरु गाउनका लागि अफरहरु आइरहेका छन् भने मैले केही समयअघि मात्र गायक सिर्जन आले मगरसँग सालैजो भाका गाएकी छु्। यो मेरो पहिलो रेकर्डेड गीत हो। अर्को गीत केही समयपछि तयार हुनेवाला छु, अञ्जनाले भनिन् ‘अहिले लोकभाका हराउँदै गएको छ, लुकेका भाकाहरुलाई खोजेर गाउने र हाम्रो संस्कृति बोकेका लोकभाका जोगाउनु हाम्रो दायित्व हो। यस्तै भाकाहरुलाई लोक पारखीहरुसामू ल्याउने प्रयास गर्नेछु।’

कार्यक्रमको विजेता भएर गाउँ गएपछि उनले विभिन्न सम्मान पाइन्। ‘घरपरिवार मैले जितेकोमा निकै खुसी थिए। गाउँमा गएपछि मेरो सम्मानका लागि आमा समूह, विद्यालय आदिले सम्मान गरेका थिए।’

पाल्पाबाट संगीत पढ्न आएकी उनले आगामी दिनहरुमा पनि गीतसंगीतमै लाग्ने योजना बनाएकी छिन्।

यही क्षेत्रबाट जिउन सकिन्छ भन्ने लाग्छ उनलाई, ‘गीत मात्र गाएर जीवन चल्दैन भनिन्छ। तर मैले यही जीवन सम्भव देखेको छु। रहरले मात्र आउनेहरुका लागि भन्न सकिन्न। तर यही करिअर बनाउछु भनेर लाग्ने हो भने सफलता प्राप्त गर्न गाह«ो छैन।
पुरस्कारस्वरूप पाएको एक लाख रुपियाँ गीतसंगीतको क्षेत्रमा नै लगानी गर्ने विचारमा छुु’ –उनले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्