उम्मेदवार बन्ने अन्तिम रस्साकस्सी



मोतीराम तिमल्सिना, काभ्रे

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउने अन्तिम तयारीमा जुटेका छन्। जिल्लाको प्रमुख शहर बनेपा, पनौती, धुलिखेलमा भने अझै उम्मेदवारको टुंगो लागिसकेको छैन।

बनेपा नगरपालिकामा एमालेले लक्ष्मी नरसिं बादेलाई प्रमुख र रेखा दाहाललाई उपप्रमुख पदमा सर्वसम्मत चयन गरेको छ।
नेपाली कांग्रेसमा प्रमुख पदका लागि कृष्णगोपाल भैल, प्रचण्डराज प्रधान र शान्तिरत्न शाक्यले दाबी गरिरहेका छन्।

कांग्रेस पनि बनेपाको उम्मेदवार छनोट गर्ने अन्तिम कसरतमा छ। नेकपा माओवादी केन्द्रले पनि बनेपामा उम्मेदवार चयन गर्न बाँकी छ।

माओवादीमा लामो समयदेखि क्रियाशील व्यक्तित्व सबै हिसाबले उपयुक्त उम्मेदवारको खोजी गरिरहेको छ। बनेपा नेपाली कांग्रेसको गढ मानिँदै आएको छ।

धुलिखेल नगरपालिकामा एमालेले पूर्वउपप्रमुख अशोक ब्याञ्जुलाई सर्वसम्मत प्रमुख पदको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा विमला शर्मासहित तीन जनाको नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेसले विमल ब्याञ्जु र रमेश हुमागाईंले दाबी गरेका छन्। धुलिखेलमा नेकपा माओवादी केन्द्रले पृथ्वी थापा र रामगोपाल चौलागाईंमध्ये एकलाई प्रमुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ। धुलिखेमा कांग्रेसबाट भने हुमागाईं नै प्रमुखको उम्मेदवार हुने सम्भावना बढी रहेको स्रोतको भनाइ छ।

पनौती नगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेसलाई प्रमुख र उपप्रमुख पदमा आकांक्षीहरुलाई मिलाउन हम्मेहम्मे परेको छ भने नेकपा माओवादी केन्द्रमा जगन्नाथ गिरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ। नेपाली कांग्रेसबाट प्रमुख पदमा विदुर बञ्जारा, भोला थापा, प्रकाश थापा, राजेश श्रेष्ठलगायतले दाबी गरेका छन् भने एमालेमा डा. अम्बुभवानी कार्की, भीम न्यौपाने, रमेश पौड्याल, वसुन्धरा हुमागाईंलगायत ८ जना छन्। उपप्रमुखमा नेपाली कांग्रेसबाट अञ्जु केसीलगायत ४ जना छन् भने एमालेमा पनि गीता बञ्जारा, शान्ता न्यौपाने, राममाया श्रेष्ठ, तीर्थमाया प्रधानलगायत रहेका छन्।

नमोबुद्ध नगरपालिकामा नेकपा एमालेले टिपी शर्मा तिमल्सिना, नेपाली कांग्रेसले कुन्साङ लामा र नेकपा माओवादी केन्द्रले रत्न लामालाई उम्मेदवार बनाउने तयारी गरेको छ। उपप्रमुखमा पनि भेग, जात र क्षेत्र मिलाउने गरी तयारी भएको छ। नेपाली कांग्रेसले पाँचखालमा सुन्दरमणि आचार्य र मण्डनमा अच्युतप्रसाद पौड्यालको नाममा अन्तिम तयारी गरिरहेको छ। खानीखोलाको प्रमुखमा गोपाल दर्लामीलाई तय गरेको छ।

रोशी गाउँपालिकामा डिबी लामा, तेमाल गाउँपालिकामा दुर्गा घलान, खानीखोला गाउँपालिकामा माओवादी केन्द्रबाट दैवलाल घिसिङको नाम सर्वसम्मत जस्तै छ। त्यस्तै चौरी देउराली गाउँपालिकामा जितबहादुर कुँवरको नाम राप्रपाबाट सिफारिस भइसकेको छ। चौरीदेउराली गाउँपालिकामा नेपाली कांग्रेसबाट विक्रम गौतम र भुम्लुमा तस्विर लामाको नाममा अन्तिम तयारी गरेको छ।

नेकपा एमालेले पाँचखालमा कञ्चन अधिकारी र रुद्र बानिँया, चौरी देउरालीमा लेखराज गौतम र बाबुकृष्ण पन्त, भुम्लु गाउँपालिकामा गुमानध्वज कुँवर, जनार्दन अधिकारी, प्रेम लामा र सुरेश श्रेष्ठमध्ये एकलाई दिने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रको पाँचखालमा विवाद बढेको छ। कोशिपारीमा विष्णु गौतम र नहकुल पराजुलीलाई उम्मेदवार बनाउने तयारी भएको छ। मण्डन देउपुर नगरपालिमा एमालेले अध्यक्ष टोकबहादुर वाइबालाई नै पठाउने तयारी गरेको छ।

माओवादीले भने प्रमुख पदमा रीता ढकाललाई उम्मेदवार बनाएको छ। उपप्रमुखमा माओवादीले निरञ्जन विष्टलाई उम्मेदवार बनाएको छ। अन्य दलहरुले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका छन्।

नेपाली कांग्रेसले बनेपामा निर्मला श्रेष्ठ र मञ्जु घिमिरे, खानीखोलामा रीता लामा, महाभारतमा कृष्णमाया पुलामीलाई चयन गरिसकेका छन्।

राप्रपाले पनौतीमा आरजुकुमार केसीलाई प्रमुख पदमा र उपप्रमुख अस्सरा विकलाई उठाउने निर्णय गरेको छ। बेथानचोक गाउँपालिकामा भगवान अधिकारीको नाम नेपाली कांग्रेसबाट सर्वसम्मत जस्तै छ। पूर्वविद्यार्थी नेता अधिकारी अधिवेशनअघि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए।

एमालेले वेदप्रसाद तिमल्सिना, विजय लामा र कमल तिमल्सिनालाई सिफारिस गरेको छ भने माओवादीले पेमा लामालाई उम्मेदवार बनाएको छ।

जिल्लामा रहेका ६ नगरपालिका तथा ७ गाउँपालिकाका प्रतिनिधि चयन गर्नका लागि ३ सय ७ मतदान केन्द्रबाट मतदान हुनेछ।
काभ्रे जिल्लामा २ लाख ३० हजार ८ सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत मधुकर पोखरेलले जानकारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका २५ राजनीतिक दलमध्ये काभ्रेबाट ११ वटा दलको संसद्मा प्रतिनिधित्व छ।

तर, स्थानीय तहको निर्वाचनमा प्रमुख ३ पार्टी कांग्रेस, एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
राप्रपा नेपाल, नेकपा माले, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायतका पार्टीहरुले केही तहमा प्रमुख पदमै र बाँकी तहमा वडास्तरमा उम्मेदवारी दिने तयारीमा लागेका छन्। एमालेले २०५४ सालको साख जोगाउन मेहनत गरिरहेको छ भने नेपाली कांग्रेस गुमेको आधार खोज्ने तयारीमा जुटेको छ। नेकपा माओवादी केन्द्र जिल्लाका तहमा खाता खोल्ने दाउमा देखिन्छ।

दलहरुले कार्यालयभित्र गणना गरेको मत परिणाम आँकलन गरेभन्दा फरक आउने निश्चित छ। २० वर्षपछिको निर्वाचनमा बदर मत, आकांक्षी धेरै हुँदा अन्तर्घात र तीन पुस्तासम्म मिलाउनुपर्ने दलहरुबीचको बाध्यताका कारण दलहरुले सोचेजस्तो परिणाम आउन नसक्ने सम्भावना हुन सक्छ।

अधिकांश दलहरुले जिल्लामा रहेका १ सय ३५ वडाहरुमा वडाअध्यक्षसहितका उम्मेदवारहरुलाई सके तल्ला कमिटीबाटै नसके जिल्ला तहबाट टुंगो लगाउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्