खबिको चर्चा



धरहरावरपर अहिले केही अनौठा स्वरहरू सुनिन थालेका छन्।

कुनै नेता वा सांसदको स्वर पहिलाको भन्दा अलिकति फरक सुनिन थाल्यो भन ‘ल यसले को बाट के पाएछ ?’ भन्ने अर्थ लगाउन थालिएको धरहराले पनि सुनेको छ।

कुरा संविधान संशोधनतिर सिधै ठोक्किएको छ।

सरकारको समर्थनमा जाने हो भनेर कुनै विपक्षी सांसदले बोल्यो भने उसलाई सिधै खरिदबिक्री अर्थात् छोटकरीमा खबिका हिसाबले अड्कलबाजी काट्न थालिएको छ भने सत्ता पक्षको कसैले विपक्षीले उठाएको कुरा ठीक छ भन्यो भने ऊ अर्को पक्षबाट खबिको सूचीमा परेको अड्कल काट्न थालिएको छ।

धरहरा भने यो खबिमा त्यति विश्वास गर्दैन। अहिलेलाई दृश्यपान मात्रै गर्ने मूडमा छ है पाठकबृन्द। जननिर्वाचित तथा सार्वभौमसत्ता सम्पन्न सांसद महोदयहरूलाई त्यसरी खुलेआम आरोप त लगाउनु भएन नि।

उहाँहरूले स्वतन्त्र ढंगले कुरा उठाउन नपाउने भन्ने व्यहोरा कुन संविधानमा लेखेको छ र ? त्यसरी किटेर त कसैलाई लेखिएको छैन।

त्यसैले धरहरा खबिको चर्चामा विश्वास गर्न आवश्यक ठान्दैन। कसैसँग तथ्यगत कुरा छ भने पनि त्यो सुन्न धरहरा राजीचाहिं छ है ⁄

प्रतिक्रिया दिनुहोस्