संरक्षक र मायांका च्याम्पियन



काठमाडौं, (नेस)
संरक्षकभूषण वज्राचार्य र मायांका राणाको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन्।

उपाधि भिडन्तमा संरक्षक र मायांकाको जोडीले इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान पुरुष सिंगल्समा प्रदीप शाहले दोहोरो उपाधि जिते।

५५ र ४५ वर्षमाथि च्याम्पियन बनेका प्रदीपले फाइनलमा क्रमशः मनोज राणालाई ०–६, ६–३ र १०–६ तथा मनोजविक्रम शाहलाई ०–६, ६–२ र १०–८ को सेटमा हराए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी पहिलो भए। उनले फाइनलमा महेश श्रेष्ठलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाए। कमलले सोही उमेरसमूहको डबल्समा महेश श्रेष्ठ मिलेर अर्को उपाधि पनि हात पार्न सफल भए।
उक्त जोडीले फाइनलमा छेवाङ लामा र मनोजविक्रम शाहको जोडीलाई ६–३ र ६–४ को सीधा सेटमा निराश पारे। भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले पृथ्वीमान गुरुङ र राजेन्द्र घिमिरेको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पन्छ्याउँदै पहिलो स्थान हात पारे।

प्रतिक्रिया दिनुहोस्