रेड बुलका उत्तराधिकारीविरुद्ध पक्राउपुर्जी



बैंकक, (एजेन्सी)

थाइल्यान्डको एक अदालतले विश्वकै चर्चित इनर्जी ड्रिंक रेड बुलका उत्तराधिकारी भोरायुथ युभिधायालाई शुक्रबार पक्राउपुर्जी जारी गरेको छ। उनलाई सन् २०१२ मा राजधानी बैंककमा अत्यन्तै तीव्र गतिमा कार हुइँकाउने क्रममा एक जना प्रहरीलाई किचेर मारेको अभियोग लगाइएको थियो।

उनको त्यो हत्या मुद्दा निक लामो समयसम्म चलेको हो। उनले पटकपटक सो अभियोग शिरोपर गर्न प्रहरीसँग भेट्न अस्वीकार गर्दै आएका थिए।

यस मुद्दाको कारण थाई जनताले सरकारी निकायले सम्भ्रान्त वर्गलाई गर्ने विशेष व्यवहारको कडा आलोचना गरेका थिए। भोरायुथ रेड बुल एम्पायर र अस्ट्रियन डियट्रिच मोतेस्चित्जका सहसंस्थापक चालियो युभिधायाका नाति हुन्।
उनलाई उक्त दुर्घटना हुनासाथ गिरफ्तार गरिए तापनि केही समयपछि नै रिहा गरिएको थियो। उनलाई पटकपटक प्रहरीसमक्ष आत्मसमर्पणका लागि आह्वान गरिएको थियो।

तर उनका वकिलले उनको विदेशमा काम गर्नुपर्ने र उनी बिरामी भएको बहाना बनाउँदै आएका थिए। साथै यसअघि उनको पक्राउपुर्जीको म्याद त्यसै गुज्रिने गरेको थियो। यसपालि अदालतले यदि विदेशमै रहेको भए पनि उनलाई सुपुर्दगी गराउने प्रक्रिया चाल्न आदेश दिएको छ।

उनीमाथि लगाइएको अभियोग आगामी सन् २०२७ मा स्वतः खारेज हुने बताइएको छ। यदि अहिले नै उनलाई अदालतले दोषी ठहर्याएमा उनलाई अधिकतम दश वर्ष लामो कारावास सजाय हुनेछ। उनलाई हालै बेलायतको राजधानी लन्डनमा देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्