तीनखुट्टे बालिकाको सफल शल्यक्रिया



ढाका, (एजेन्सी)
जन्मँदै आफ्नो नितम्बमा तेस्रो खुट्टा भएकी बंगलादेशी बालिकाको अस्टे«लियामा सफल शल्यक्रिया भएको छ।

तीन वर्षीया चोइटी खातुनको शल्यक्रिया गरिएको हो। अस्ट्रेलियाली सर्जन्सहरूले उक्त थप खुट्टा हटाएर नितम्बको क्षेत्र पुनः दुरुस्त पार्नका लागि महिनौंसम्म मिहेनत गरेका थिए।
चिल्ड्रेन फस्र्ट फाउन्डेसन नामक एक दातृ संस्थाले बंगलादेशको एउटा गाउँबाट उनलाई अस्ट्रेलिया पुर्याएको थियो।

भिक्टोरियास्थित मोनास चिल्ड्रेन्स हस्पिटलको प्रमुख सर्जन डा. क्रिस किम्वरले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनलाई भनेका छन्– ‘चोइतीको केस निकै दुर्लभ तथा जटिल रहेको छ। निकै विश्लेषण गर्दै र योजना बनाउँदै उनको शल्यक्रिया अघि बढाउनुपरेको थियो।’

अस्ट्रेलियाली डाक्टरहरूको टोलीले पहिल्यै चोइतीको कहीं शल्यक्रिया गरिसकेका बंगलादेशी डाक्टरहरूसँग विस्तृत विचार विमर्श गरेका थिए। गत वर्ष उनलाई अस्ट्रेलिया ल्याइनु अघि तिनीहरूले थप शल्यक्रिया सम्भव र फाइदाजनक रहेको वा नरहेकोबारे पनि निर्णय गरेको थियो।’

डा. किम्वरले भनेका छन्– ‘बंगलादेशमा डाक्टरहरूले उनको खुट्टाका केही भाग हटाइसकेका थिए। तर उनका दुईवटा सामान्य खुट्टाबीच अर्झै ठूलो मासपिण्ड बाँकी नै रहेको थियो। त्यहाँनिरको भाग निकै जटिल थियो। किनभने उक्त निकै असामान्य क्षेत्रमा उनका दुईवटा गुद्वार, दुईवटा योनी विकास भइरहेका थिए।’

लामो छलफलपछि गत नोभेम्बरमा तिनीहरू शल्यक्रियाको निर्णयमा पुगेका थिए। डा. किम्वरले आंशिक रूपमा अन्धा पनि रहेकी चोइती अहिले हिँड्ने र दौड्ने गरेको तथा उनको शारीरिक वजन पनि बढ्दै गएको जानकारी दिएका छन्।
उनले चोइतीको किशोरावस्थामा थप केही शल्यक्रिया गराउनु पर्न सक्ने पनि बताएका छन्।

तर उनी अहिले बिना कुनै औषधि र र सर्जिकल सामान लिएर आमासँग बंगलादेश फर्किन सक्ने पनि बताइएको छ। उनकी आमा सीमा खातुनले बिहीबार अस्ट्रेलियाली सञ्चारमाध्यमलाई भनेकी छिन्– ‘म मेरी छोरीलाई आफ्ना घरपरिवारमाझ लान चाहन्छु। म चोइती खेलिरहेकी हेर्न चाहन्छु।

हुन त अहिले सबै ठीकठाक छ। उनी अन्य बच्चाहरू जस्तै खेल्न सक्छिन्।’

प्रतिक्रिया दिनुहोस्