झापामा विद्यार्थी र प्रहरीबीच झडप, केही घाईते



नेपाल समाचारपत्र, भद्रपुर । शैक्षिक विकृति अन्त्यको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालय झापामा तालाबन्दी गर्दा झडप भएको छ ।

वर्तमान शिक्षा ऐन र नियमावली विरुद्व सञ्चालित विद्यालयमा बढेको अनियन्त्रित शुल्क तथा भर्ना अभियानमा लिँदै आएको अवैध भर्ना शुल्क रोक्न नसकेको भन्दै शिक्षा कार्यालयमा तालाबन्धी गर्न गएका विद्यार्थीमाथि प्रहरीले दमन गर्दा झडप भएको हो  ।   झडपमा परेर अनेरास्ववियूका रोशन सुवेदी, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष उप्रेती र अखिल क्रान्तिकारीका सचिवालय सदस्य रवि बस्नेत घाइते भएका छन् ।

विद्यार्थीको टोलीले  जिल्ला शिक्षा अधिकारीको कार्य कक्षमा तालाबन्धी प्रयास गरेपछि तैनाथ रहेका प्रहरीले विद्यार्थी नेता तथा कार्यकर्तालाई लछार पछार पारेर शिक्षा कार्यालय बाहिर भगाएको थियो ।   विहानैदेखि तीन घेरामा परिचालित प्रहरीले विद्यार्थी आन्दोलन दमनका लागि पूर्ण तयारी गरेको भएपनि सानो संख्यामा पुगेका विद्यार्थीको शक्ति कमजोर भएपछि भागाभाग भएका थिए ।

जिल्ला शिक्षा कार्यालय झापाले निजी विद्यालयको माफियागिरी चलाएर विद्यार्थीको टाउको गनेर कमिशन खाएको आरोप लगाउँदै आइतबारबाट संस्थागत विद्यालय अनिश्चित बन्दको घोषणा समेत विद्यार्थी संगठनले  गरेका छन् ।   जिल्ला शिक्षा कार्यालय विरुद्ध आक्रोसित भएका विद्यार्थी संगठनका नेताहरुले शिक्षा कार्यालय अगाडि गेटमा कोण सभा गर्दै जिशिअ र विद्यालय प्रशासन हेर्ने कर्मचारीहरु शैक्षिक माफियाको कमिशन खेलमा परेर विद्यार्थीको भविश्यमाथि व्यापार गर्ने दलाल भएको आरोप लगाएका छन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी र अखिल क्रान्तिकारीका सचिवालय सदस्य रवि बस्नेत लगायतले सम्बोधन गर्दै शान्तिपूर्ण आन्दोलन दमन गर्ने जिशिअ योगेन्द्र बरालसित कुनै पनि किसिमको वार्ता नगर्ने घोषणा समेत गरेका छन् ।    यसैगरी विद्यार्थी संगठनका प्रतिनिधिहरुले चर्को शुल्क असुलेको आरोप लगाएर चन्द्रगढी स्थित प्रज्ञा एकाडमी, विभूति विद्या मन्दिरमा तालाबन्धी लगाएका छन् । यी विद्यालयहरुले भर्ना शुल्कमा ३ सय प्रतिशतसम्म बृद्धि गरेको अभिभावकहरुको गुनासो रहेको विद्यार्थी नेताहरुले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्