देश कसले चलाएको छ ?



बिहीबार एक जना व्यक्तिले अर्कोलाई प्रश्न गर्दै गरेको धरहराको दूरबीनबाट देखियो। उनी भन्दै थिए– ‘यो देश कसले चलाएको छ?’ अर्का व्यक्ति जवाफ दिइरहेका थिए– ‘सरकार छ, दलहरू छन् उनीहरूले नै चलाइरहेका छन् नि। त्यति पनि थाहा छैन।’ पहिलोले फेरि भने– ‘कहाँ सरकारले देश चलाउँछ। देश त भगवान् पशुपतिनाथले पो चलाइरहेका छन्।’

दोस्रोले प्रतिप्रश्न गरे– ‘किन त्यसो भन्नुभयो?’ पहिलोले जवाफ दिए– ‘सरकार त खालि संविधान संशोधन गर्ने कुरा गर्छ। दल र सरकारबीच त्यसै विषयमा कुराकानी हुन्छ। कुरा त्यसैमा मात्रै अल्झिरहेको छ। अनि उसले देश कसरी चलाउन भ्याउँछ? तीनपटक भइसक्यो संविधान संशोधनको प्रस्ताव राख्ने, त्यसलाई सच्याउन खोज्ने, पर्यो भने फिर्ता गर्ने, केही समय दलहरूसँग वार्ता र छलफल गर्ने आदि इत्यादि।’

बिचरा सरकार र दलहरूले त्योबाहेक के काम गर्न पाएका छन् र देश उनीहरूले चलाएको मान्ने?’ धरहरा पनि यो कुरा सुनेर हैट, कुरा त यो पनि गलत होइन भन्ने निष्कर्षमा पुग्यो है पाठकवृन्द। यहाँहरूको कुनै भनाइ भए खबर पाऊँ है।

प्रतिक्रिया दिनुहोस्